भ्रष्टाचार मुद्दा : उच्च अदालतमा उपस्थित भए इमरान खान

चैत्र ४, २०७९
भ्रष्टाचार मुद्दा : उच्च अदालतमा उपस्थित भए इमरान खान

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचार प्रकरणमा इस्लामावाद उच्च अदालतमा उपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्री खान अदालतमा पुग्ने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको थियो । खानको पार्टी तेहेरिक-ए-इन्साफ-पीटीआईका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा दर्जनौं राउन्ड अश्रु ग्यास प्रहार गरेको छ ।

स्थिति तनावपूर्ण भएपछि खानले गाडीभित्रै बसेर अदालतमा हाजिरी जनाएका थिए । विदेशी उच्चपदस्थ व्यक्तिबाट दिएका उपहार गैरकानुनी ढंगले बिक्री गरेको मुद्दामा अदालतले खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीअनुसार पक्राउ गर्न गत साता लाहौरस्थित उनको निवास गएका प्रहरी र पीटीआईका कार्यकर्ताबीच झडप भएको थियो ।

इमरान खान अदालतमा पेस हुनुअघि विद्युतीय सञ्चारमाध्यमको नियमनकारी निकायले अदालत परिसरबाट प्रत्यक्ष प्रसारण गर्न रोक लगाएको थियो । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी-पेमराले टेलिभिजन च्यानलहरुले हिंस्रक दृश्य देखाएका कारण प्रहरीमाथि आक्रमण भएकाले यो निर्णय लिइएको आज बिहान जनाएको थियो । निर्देशन पालना नगर्ने टेलिभिजन च्यानलको लाइसेन्स निलम्बन गरिने चेतावनी पनि पेमराले दिएको थियो ।