चिनियाँ राष्ट्रपति आगामी साता मस्को जाँदै, जेलेन्स्कीको पनि सी भेट्ने चाहना

चैत्र ३, २०७९
चिनियाँ राष्ट्रपति आगामी साता मस्को जाँदै, जेलेन्स्कीको पनि सी भेट्ने चाहना

वेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी साता मस्को भ्रमणमा जाने भएका छन् । भ्रमणका क्रममा राष्ट्रपति सी र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच बृहत् साझेदारी र सामरिक सहकार्यका विषयमा छलफल हुने क्रेमलिनले जनाएको छ ।

युक्रेन युद्ध अन्त्यका लागि चीनले हालै शान्ति योजना सार्वजनिक गरेको थियो । उक्त योजनालाई पश्चिमा मुलुकहरुले स्वागत गरे पनि रुसलाई हतियार नदिन बेइजिङलाई चेतावनी दिँदै आएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलोपटक राष्ट्रपति सी रुस जान लागेका हुन् । भ्रमणका क्रममा दुवै मुलकबीच आपसी सहकार्यका विषयमा हस्ताक्षर हुने जनाइएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले युक्रेन युद्धका विषयमा चीनको वस्तुनिष्ट र न्यायोचित अडान हुने उल्लेख गर्दै शान्ति वार्ताका लागि रचनात्मक भूमिका निर्वाह गर्ने जनाएकी छन् ।

यो द्विपक्षीय सम्बन्ध कुनै मुठभेड र तेस्रो पक्षलाई लक्षित नहुने उनको भनाइ छ। रुस र चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत् लोकतान्त्रिक प्रवर्द्धन गर्ने पनि प्रवक्ता हुआले बताएकी छन् ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि चिनियाँ राष्ट्रपति सीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । दुवै पक्षबीच छलफल भए समर्थन गर्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले जनाएका छन् ।