अदालतको अनुमति बिना आफूलाई पक्राउ नगर्न माग गर्दै इमरान खानले दिए उच्च अदालतमा निवेदन

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
 अदालतको अनुमति बिना आफूलाई पक्राउ नगर्न माग गर्दै इमरान खानले दिए उच्च अदालतमा निवेदन

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूविरुद्ध लागेका मुद्दामा अदालतको अनुमति बिना गिरफ्तार नगर्न इस्लामाबाद उच्च अदालतमा निवेदन दिएका छन् ।

उच्च अदालतमा उनले दिएको रिट निवेदनमा वर्तमान गठबन्धन सरकारले आफूविरुद्ध देशभर विभिन्न मामिलामा दैनिकजसो मुद्दा दर्ता गरिरहेको उल्लेख गरेका छन् । साथै वजिराबादमा आफ्नो ज्यानै लिने खालको आक्रमण भएको र आफू गम्भीर खतरामा रहेको उनले जनाएका छन् ।

उनले दायर गरेको निवेदनमा आफूविरुद्ध देशभर दायर मुद्दाको रेकर्डसमेत माग गरेका छन् । साथै अदालतको अनुमति बिना आफ्नो गिरफ्तारमा रोक लगाउन पनि उनले माग गरेका छन् । उनले शनिबार अदालतमा स्वयम् उपस्थित हुने पनि विश्वास दिलाएका छन् ।

यसैबीच खानका वकिलले भने पक्राउ पुर्जी रद्द गर्न गरेको अनुरोध खारेज गर्ने फैसलाप्रति चुनौती दिएका छन् । उच्च अदालतको रजिस्ट्रार कार्यालयले भने खानको याचिकालाई दर्ता गर्न अस्वीकार गरेको छ ।

इमरान खानविरुद्ध विदेशबाट प्राप्त बहुमूल्यवान पुरस्कार बिक्री गरेको (तोसाखाना) तथा महिला न्यायाधीशलाई अपमान गरेको सम्बन्धी मुख्य दुई मुद्दा लागेको छ । यी दुई मामिलामा उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी भएको थियो । उद्यपि, अब भने उनीविरुद्ध तोसाखाना मामिलामा जारी पक्राउ पुर्जी मात्रै बाँकी छ ।

महिला न्यायाधीशसम्बन्धी मामिलामा जारी भएको पक्राउ पुर्जी भने बिहीबार रद्द गरिएको थियो । उनलाई सोमबार अदालतमा उपस्थित हुन आदेश दिइएको छ ।

तोसाखाना मामिलामा पक्राउ गर्न प्रहरी खानको घरको बाहिर पुगेको थियो । त्यसक्रममा प्रहरी र उनका समर्थकबीच घण्टौँ झडपसमेत भएको थियो । १८ मार्च अर्थात शनिबार उच्च अदालतमा उनले उपस्थित हुनु पर्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.