जापान र दक्षिण कोरियाबीच सुध्रियो सम्बन्ध

चैत्र २, २०७९
जापान र दक्षिण कोरियाबीच सुध्रियो सम्बन्ध

टोकियो । जापान तथा दक्षिण कोरियाका नेताहरुबीच १२ वर्षपछि आज जापानको राजधानी टोकियोमा ऐतिहासिक वार्ता भएको छ ।

जपानका प्रधानमन्त्री फुमियो किसिदाले आजको वार्तालाई दुइ देशबीचको सम्बन्ध सुधारका लागि ऐतिहासिक कदम भनेका छन् । टोकियो सम्मेलनका लागि दक्षिण कोरियाका राष्ट्रपति युन सुक यी बिहीबार बिहान जापान पुगेका हुन् ।

उत्तर कोरियाले जापानी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको केही घण्टामै जापानी प्रधानमन्त्री र दक्षिण कोरियाली राष्ट्रपतिले आज संयुक्त रुपमा टोकियो सम्मेलन उद्‍घाटन गरेका थिए । दुई मुलुकका शीर्ष नेताहरुको भेटवार्ताले ऐतिहासिक रुपमै तनावपूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीबीचको सम्बन्धमा सहजता आउने अपेक्षा छ ।

तनावपूर्ण इतिहासका कारण दुवै देशबीचको सम्बन्ध जटिल रहँदै आएको छ । जापानले सन् १९१० देखि १९४५ अर्थात दोस्रो विश्वयुद्धको अन्त्यसम्म दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएको थियो । उपनिवेशकालमा जापानी सेनाले कोरियालीमाथि अत्याचार र दमन गरेका थिए । जापानी सेनाले लाखौं कोरियालीलाई आफ्ना खानी तथा कारखानामा बँधुवा मजदुर र महिलालाई यौनदासी बनाएका थिए । उपनिवेशकालीन घाउलाई दक्षिण कोरियालीले अहिलेसम्म न बिर्सेका छन् न क्षमा गरेका छन् ।

कटुतापूर्ण सम्बन्ध रहे पनि यी दुवै देश अमेरिकाका निकटतम् मित्र हुन् । उनीहरुको सम्बन्ध सुधारले अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनको एसिया नीतिलाई सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ ।