पूर्वप्रधानमन्त्री इमरान खानको निवासबाट हट्न प्रहरीलाई अदालतको आदेश

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
पूर्वप्रधानमन्त्री इमरान खानको निवासबाट हट्न प्रहरीलाई अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको लाहोर उच्च न्यायालयले पूर्वप्रधानमन्त्री इमरान खानको निवासबाट हट्न प्रहरीलाई आदेश दिएको छ । अदालतले भोलि (बिहीबार) बिहान १० बजेसम्मका लागि जमान पार्कस्थित निवासबाट हट्न आदेश दिएको हो ।

लाहोरमा पाकिस्तान सुपर लिग आयोजना भएकाले अदालतले यस्तो फैसला दिएको जियो न्युजले जनाएको छ । प्रधानमन्त्री हुँदा विदेशबाट प्राप्त उपहारहरु सरकारी कोष-तोषखानामा नबुझाई महँगोमा बिक्री गरेको मुद्दामा इस्लामावाद जिल्ला अदालतले खानविरुद्ध गैरजमानती वारेन्ट जारी गरेको थियो । सोही वारेन्टविरुद्ध खानको तेहेरिक-ए-इन्साफ पार्टी-पीटीआईले लाहोर उच्च न्यायालयमा अपिल गरेको थियो ।

खानलाई पक्राउ गर्न इस्लामावाद प्रहरी हिजो (मंगलबार) उनको निवास पुगेको थियो । त्यसक्रममा हिजो र आज (मंगलबार र बुधबार) भएका झडपमा ५४ प्रहरी घाइते भएका छन् । खानका समर्थकलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने खानका समर्थकले पनि प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका थिए ।

खानको गिरफ्तारी प्रयासको विरोधमा पार्टीका समर्थकले देशका अन्य सहरमा पनि प्रदर्शन गरेका थिए । पूर्वप्रधानमन्त्री खानले आज (बुधबार) बिहानै भिडियो सन्देशमार्फत सम्बोधन गर्दै हिजोको अवस्थालाई भारतले अवैधानिक रुपमा कब्जामा लिएको जम्मु काश्मिरको स्थितिसरह भनेका छन् । इस्लामावाद प्रहरीले १० दिनअघि पनि खानलाई गिरफ्तार गर्ने असफल प्रयास गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.