इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र समर्थकबीच १२ घण्टादेखि झडप जारी

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
इमरान खानलाई पक्राउ गर्न गएको प्रहरी र समर्थकबीच १२ घण्टादेखि झडप जारी

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्न लाहौरस्थित उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच निवास बाहिर झडप भएको छ ।

झडपका क्रममा थुप्रै मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । खानका समर्थकलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने खानका समर्थकले पनि प्रहरीमाथि इंट्टा र ढुङ्गा प्रहार गरेका जनाइएको छ ।

आफ्ना नेतालाई गिरफ्तार गर्न नदिने समर्थकहरुको अडानका कारण मंगलबार साँझदेखि सुरु भएको तनावपूर्णस्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेको पाकिस्तानको डन पत्रिकाले जनाएको छ । यसैबीच बुधबार बिहानै चार बजेर २० मिनेटमा खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई गिरफ्तार गर्ने थप प्रयास जारी रहेको बताएका छन् । भिडियो सन्देशमार्फत सम्बोधन गर्दै खानले मंगलबारको अवस्थालाई भारतले अवैधानिक रुपमा कब्जामा लिएको जम्मु कश्मिरको स्थिति सरह भएको बताएका छन् ।

इस्लामाबाद प्रहरीले १० दिनअघि पनि खानलाई गिरफ्तार गर्ने असफल प्रयास गरेको थियो । खान विरुद्धको तोसखाना सम्बन्धी मुद्दामा इस्लामाबाद जिल्ला अदालते गैर जमानती वारन्ट जारी गरेको छ । सुनुवाइका लागि बारम्बार अनुपस्थित भएपछि अदालतले यस्तो वारन्ट जारी गरेको हो ।

खानले भने त्यसविरुद्ध उच्च अदालतमा अपिल गरेका छन् भने सो अपिलमाथि आज सुनुवाइ हुँदैछ । खानमाथि उनी प्रधानमन्त्री हुँदा विदेशी सरकारबाट प्राप्त उपहारहरु सरकारी कोष (तोसखाना) मा नबुझाई महंगो मूल्यमा बिक्री गरेको आरोप लगाइएको छ ।

खानको गिरफ्तारी प्रयासको विरोधमा उनको पार्टीका समर्थकले देशका अन्य सहरमा पनि प्रदर्शन गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement