उत्तर कोरियाद्वार पूर्वी तटीयमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार

फाल्गुन ३०, २०७९
उत्तर कोरियाद्वार पूर्वी तटीयमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार

पेयोङ्याङ । अमेरिका र दक्षिण कोरियाले पाँच वर्षयताकै ठूलो संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाले आफ्नो पूर्वी तटीय जलक्षेत्रमा दुईवटा छोटो दूरीको मार हान्ने बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

स्थानीय समयअनुसार मंगलबार बिहान करिब ७ बजेर ४० मिनेटतिर १० मिनेटको अन्तरालमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

तीन दिनको अन्तरालमा प्योङ्याङले गरेको यो दोस्रो क्षेप्यास्त्र परीक्षण हो । दुई दिनअघि मात्रै प्योङ्याङले एउटा पनडुब्बीबाट दुईवटा रणनीतिक क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । अमेरिका र दक्षिण कोरियाले सोमबारबाट सुरु गरेको संयुक्त सैन्य अभ्यासप्रति आक्रोश व्यक्त गर्न उत्तरले क्षेप्यास्त्र परीक्षण गरिरहेको अनुमान छ ।

अमेरिका र दक्षिण कोरियाले सोमबारबाट सुरु गरेको फ्रिडम सिल्ड नामको उक्त संयुक्त सैन्य अभ्यास ११ दिनसम्म चल्नेछ । उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेको र कोरियाली प्रायद्वीपमा आपत्‌कालीन अवस्था आइपरेको परिकल्पनाका साथ उक्त सैन्य अभ्यास गरिने जनाइएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग कूटनीतिक सम्बन्ध अघि बढाइरहेको र दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति मुन जे इनले पनि उत्तरसँग संवादको प्रक्रिया अघि बढाइरहेका बेला भएकाले त्यतिबेला यी दुवै देशले यो स्तरको सैन्य अभ्यास स्थगित गरेका थिए ।

तर पछिल्ला समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको सिलसिला हृवात्तै बढाएकाले पनि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासलाई पुनः नियमित गरेको जनाइएको छ । वर्ष २०२२ मा उत्तर कोरियाले अमेरिकासम्म मार हान्ने क्षमता भएको अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्रसहित साना-ठूला गरी ७० भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई आफूमाथि आक्रमण गर्ने पूर्वअभ्यासका रुपमा व्याख्या गर्ने गरेको छ ।