चीनको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा खुल्दै, नेपालसहित ६० देशमा भ्रमण अनुमति

फाल्गुन ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
चीनको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा खुल्दै, नेपालसहित ६० देशमा भ्रमण अनुमति

वेइजिङ । चीनले कोभिड महामारी सुरु भएको तीन वर्षपछि पहिलोपटक विदेशी पर्यटकका लागि आफ्नो देश पूर्ण रुपमा खुला गर्ने भएको छ ।

चीनले भोलि (बुधबार) देखि नै विदेशीका लागि सबै वर्गको भिसा जारी गर्न सुरु गर्ने रोयटर्सले उल्लेख गरेको छ । कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि लागु हुनेगरी आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो । उक्त मितिभन्दा अघि जारी गरिएका र म्याद भएका भिसा प्राप्त विदेशी यात्रुले भोलि मार्च १५ देखि लागु हुनेगरी चीन प्रवेश गर्न पाउने समाचारमा जनाइएको छ ।

शून्य कोभिड नीतिविरुद्ध प्रदर्शन हुन थालेपछि चीनले गत वर्षको डिसेम्बरबाट उक्त नीति लचिलो बनाउन सुरु गरेको हो । सोही क्रममा यसै वर्षको जनवरी ८ देखि लागु हुने गरी क्वारेन्टिनसम्बन्धी नियम हटाउनुका साथै कामदार भिसा, अध्ययन भिसा वा फेमिली भिसा लिएर आउने अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्नो सीमा खुला गरेको थियो ।

तर पर्यटक भिसा भने खुला गरेको थिएन् । तर भोलि (बुधबार) देखि भने चीनले आफ्नो अन्तर्राष्ट्रिय सीमा विदेशी यात्रुका लागि पूर्ण रुपमा खुला गर्न लागेको हो ।

यसैबीच चीनले आफ्ना नागरिकले समूहगत रुपमा विदेश घुम्न जान पाउने देशको संख्या २० बाट बढाएर ६० पुर्‍याएको छ । यो सूचीमा थपिएका देशमा नेपाल, भियतनाम, इरान, फ्रान्स, इटलीलगायत छन् । शून्य कोभिड नीतिअन्तर्गत चीनले आफ्ना नागरिकलाई पनि विदेश भ्रमणमा रोक लगाएको थियो ।

चीनले गत महिना कोभिडमाथि विजय प्राप्त गरेको घोषणा गरेको थियो । कोभिड महामारीका कारण लगाइएको अन्तिम प्रवेश प्रतिबन्ध हटाएसँगै चीनमा सामान्य जीवन सुरु हुने अपेक्षा गरिएको छ । साथै यसले लाखौं पर्यटक भित्रिने र देशको अर्थतन्त्रले गति लिने अपेक्षा पनि चीनले गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.