आर्थिक सुधार र खुला उदारनीतिलाई निरन्तरता दिने चिनियाँ प्रधानमन्त्रीको घोषणा

फाल्गुन २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
आर्थिक सुधार र खुला उदारनीतिलाई निरन्तरता दिने चिनियाँ प्रधानमन्त्रीको घोषणा

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आर्थिक सुधार र खुला उदारनीतिलाई निरन्तरता दिने बताएका छन् ।

१४ औं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशन समापनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री लीले जनकेन्द्रित विकासको विचारधारामा जोड दिए ।

प्रधानमन्त्री लीले कूल गार्हस्थ उत्पादनमा ध्यान दिए पनि धेरै प्रयास गर्नुपर्ने बताए । चीनले कूल गार्हस्थ उत्पादन वृद्धिदर ५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । जीवनस्तर सुधार गर्न विज्ञान तथा प्रविधिको विकास, आधुनिक बजार प्रणालीको निर्माण द्रूत गतिमा कायम राख्न र हरित विकासमा ध्यान केन्द्रित गर्नुपर्ने प्रधानमन्त्री लीको भनाइ छ ।

चीनमा श्रमिक जनसंख्या ९० करोड रहेको र हरेक वर्ष १ करोड ५० लाख जनसंख्या श्रमबजारमा आउने भएकाले श्रमशक्ति चिनियाँ अर्थतन्त्रको महत्वपूर्ण अंग रहेको उनको भनाइ छ । प्रधानमन्त्री छ्याङले एक मुलुक दुई व्यवस्थाको प्रत्याभूतिमा हङकङ र मकाउको भूमिका अझै बलियो हुने उल्लेख गर्दै ताइवानी व्यवसायीलाई चीनमा भित्र्याउनुपर्नेमा जोड दिए ।

उपभोक्ता र निजी क्षेत्रको कमजोर आत्मविश्वास, सुस्त निर्यात र अमेरिकासँग ओरालो लागेको सम्बन्ध प्रधानमन्त्री लीका सामु चुनौतीका रुपमा रहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.