राष्ट्रपतिमा ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पेन्सको संकेत

फाल्गुन २८, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपतिमा ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पेन्सको संकेत

काठमाडौं । अमेरिका पूर्वउपराष्ट्रपति माइक पेन्सले सन् २०२१ को जनवरी ६ मा संसद् भवनमा भएको हिंसात्मक आक्रमणमा खेलेको भूमिकाका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई इतिहासले जवाफदेही ठहर्‍याउने प्रतिक्रिया दिएका छन् । ट्रम्पप्रति पेन्सले गरेको यो आलोचना अहिलेसम्मकै सशक्त भएको रोयटर्सले टिप्पणी गरेको छ ।

वासिंटन डीसीमा आयोजित एक कार्यक्रममा पेन्सले पूर्वराष्ट्रपति ट्रम्प गलत भएको र उनका गैरजिम्मेवार अभिव्यक्तिले उक्त दिन संसद् भवनमा उपस्थित आफ्नो परिवार र अन्य सबैको ज्यान जोखिममा पारेको जनाए । पछिल्ला दिनमा सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ता र गत नोभेम्बरमा प्रकाशित आफ्नो संस्मरणमा पेन्सले ट्रम्पको चर्को आलोचना गर्दै आएको भए पनि यो अहिलेसम्मकै कडा अभिव्यक्ति हो ।

पेन्सले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई चुनौती दिने संकेतसमेत गरेका छन् । ट्रम्पले यसअघि नै २०२४ मा हुने निर्वाचनमा आफू प्रत्यासी बन्ने घोषणा गरिसकेका छन् ।

२०२० को निर्वाचन परिणाम उल्टाउने प्रयास स्वरुप ट्रम्पका हजारौं समर्थकले संसद् भवनमा आक्रमण गर्दा पेन्स त्यहीभित्रै थिए । उक्त दिन संसद्का दुवै सदनको संयुक्त बैठकबाट जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएको प्रमाणित गर्ने कार्यतालिका थियो । उक्त घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने दर्जनौं मानिस घाइते भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.