
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार राति र बुधबार बिहान स्टार खेलाडीहरुले आ-आफ्नो देशका लागि म्याच विनिङ प्रदर्शन गरे ।
फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हालान्डले दुई-दुई गोल गर्दै आ-आफ्नो देशलाई जित दिलाउँदा सबैको नजर लियोनेल मेस्सीमाथि केन्द्रित थियो । कान्सास सिटीमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक गरे । कीर्तिमानले भरिएको यस खेलमा खेलअवधिभर स्टेडियममा मेस्सीको नाम मात्र गुन्जियो ।
कान्सास सिटीको आकाशमा सूर्य अस्ताउँदै गर्दा ३८ वर्षीय मेस्सीले अर्को इतिहास रचे । विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बने । उनले आफ्ना चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई केवल एक दिनले पछि पारे । अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो, र त्यो जितको केन्द्रमा मेस्सी नै रहे ।
उनको पहिलो विश्वकप ह्याट्रिक, विश्वकपमा १६औं गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोससँग रेकर्ड बराबरी, र उमेर केवल संख्या मात्र भएको अर्को सशक्त सन्देश । विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने । २७औं विश्वकप खेल खेलेका मेस्सी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीसमेत बने ।
सन् २००६ मा जर्मनीमा भएको फिफा विश्वकपमा १८ वर्षको उमेरमा गरेको विश्वकप डेब्यूको ठीक २० वर्षपछि, आफ्नो २००औं अन्तर्राष्ट्रिय खेलमा फेरि उनले आफ्नो महानता प्रमाणित गरे । ४ मिनेटमै मेस्सीले बल जालीमा पुर्याएका थिए, तर अफसाइडले त्यो खुशी रोकेको थियो ।
समर्थकहरूले भने त्यतिबेलै खुसीयाली मनाएका थिए । १७औं मिनेटमा त्यो प्रतीक्षा अन्त्य भयो । २५ यार्ड टाढाबाट बायाँ खुट्टाले प्रहार गरेको उनको कर्लिङ सट सीधा जालीभित्र प्रवेश गर्यो । गोलकिपर लुका जिदानले छोए पनि, त्यो रोक्न सम्भव थिएन । स्टेडियम गुञ्जियो ।
त्यो एउटा ऐतिहासिक रातको सुरुवात थियो । पहिलो गोलपछि उनी केही क्षण चिन्तित पनि बने । उनको बुट अल्जेरियाका आइसा मान्डीको एडीमा ठोक्किएको थियो । तर, कुनै कारबाही भएन र मेस्सीले खेललाई आफ्नो नियन्त्रणमै राखे ।
६०औं मिनेटमा, जिदानको गल्तीपछि आएको बललाई मेस्सीले सहजै जालीमा पुर्याए । त्यससँगै उनी विश्वकप इतिहासकै शीर्ष गोलकर्ताको नजिक पुगे । ७६औं मिनेट, त्यो क्षण, जसले इतिहास लेख्यो । निको गोन्जालेजको पासमा मेस्सीले ह्याट्रिक पूरा गरे ।
लगतै प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सीलाई मैदान बाहिर निकालेर आराम दिएका थिए । खेलपछि उनले भावुक हुँदै परिवार, टिममेट र समर्थकसँग यस्तो क्षण बाँड्न पाउनु अत्यन्तै सुन्दर अनुभव भएको बताए । मेस्सीलाई वर्णन गर्ने शब्द नै छैन । २० वर्षदेखि उनले यस्तै जादु देखाउँदै आएका छन् ।
उनै मेस्सी सबैका लागि प्रेरणा हुन् । यी शब्दहरु मुख्य प्रशिक्षक स्कालोनीका हुन् । हात आकाशतर्फ उठाएर, हजारौं समर्थकको आवाजबीच मेस्सीले त्यो क्षण आत्मसात गरे । उनको नाम स्टेडियमभरि गुन्जियो । खेल सकिएपछि पनि, उत्सव रोकिएन ।
नीलो र सेतो रंगको जर्सी लगाएका समर्थकले भरिभराउ स्टेडियम निरन्तर ड्रमको आवाज र मेस्सीको नामले गुञ्जिरह्यो । चार वर्षअघि उनले अर्जेन्टिनालाई विश्वकप दिलाएका थिए । उनमा फेरि त्यही इतिहास दोहोर्याउने विश्वास स्पष्ट रुपमा झल्किन्छ ।