अमेरिकाको पूर्व उपराष्ट्रपति पेन्सको निवासमा पनि भेटियो सरकारी गोप्य कागजात

माघ ११, २०७९
अमेरिकाको पूर्व उपराष्ट्रपति पेन्सको निवासमा पनि भेटियो सरकारी गोप्य कागजात

न्यूयोर्क । वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब पूर्व उपराष्ट्रपति माइक पेन्सको निवासमा पनि सरकारी गोप्य कागजातका फाइल फेला परेका छन् ।

यससँगै उच्चतम् स्तरमा रहेका अमेरिकी राजनीतिज्ञहरुले संवेदनशील सरकारी कागजात राख्दा कति असंवेदनशीलता अपनाउँदा रहेछन् भन्ने प्रश्न र चिन्ता दुवै उब्जाएको छ । पेन्स ट्रम्पको कार्यकालमा उपराष्ट्रपति थिए । यसअघि ट्रम्प र बाइडेनको निजी निवासबाट थुप्रै गोप्य कागजात फेला परिसकेका छन् भने न्यायमन्त्रालयले त्यससम्बन्धमा अनुसन्धान गरिरहेको छ । बाइडनको निजी निवासमा फेला परेका सरकारी गोप्य कागजात उनी बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति रहँदाको समयको भएको बताइएको छ ।

बाइडेनको निजी निवासमा फेला परेका कागजताबारे न्याय मन्त्रालयले विशेष अभियोजनकर्ता नियुक्त गरी अनुसन्धान गरिसकेको छ । त्यस्तै ट्रम्पविरुद्ध फौजदारी अनुसन्धान चलिरहेको छ ।

पूर्व उपराष्ट्रपति पेन्सका कानूनी सल्लाहकार ग्रेग जेकबले पेन्सको निवासमा गोप्य सरकारी कागज फेला परेका र सरकारलाई बुझाउने सम्बन्धमा पेन्सले संघीय जाँच ब्युरोलाई सहयोग गरिरहेको मंगलबार सार्वजनिक गरेका हुन् ।

जेकबले गत साता राष्ट्रिय अभिलेखालयलाई पत्र पठाएर पेन्सको निवासमा सरकारी गोप्य कागजात फेला परेको र यसअघि तिनको अस्तित्वबारे पेन्स अनभिज्ञ रहेको जानकारी गराएका थिए । पत्रमा उनले यस सम्बन्धमा सरकारी निकायबाट गरिने कुनै पनि सोधपुछका लागि पूर्णरुपमा सहयोग गर्न पेन्स तयार रहेकोसमेत पत्रमा उल्लेख गरेका थिए । जेकबको पत्रपछि संघीय जाँच ब्युरो एफबीआई पेन्सको निवासमा पुगेर ती कागजात नियन्त्रणमा लिइसकेको छ ।

अमेरिकाको राष्ट्रपतिय अभिलेख कानून अनुसार कार्यकाल सकिए लगत्तै सरकारी गोप्य कागजातहरु राष्ट्रिय अभिलेखालयमा जम्मा गर्नुपर्छ। 


Enter Kantipur TV HD
Advertisement