भारतको बिहारमा ट्रकले किच्दा १० जनाको मृत्यु

मंसिर ५, २०७९
भारतको बिहारमा ट्रकले किच्दा १० जनाको मृत्यु

बिहार । भारतको बिहारस्थित वैशाली जिल्लामा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

जिल्लाको मेहनार क्षेत्रको सडक किनारमा रहेका मानिसहरुलाई एक ट्रकले किच्दा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय समयअनुसार आइतबार राति ९ बजे तीव्र गतिमा आएको ट्रकले २० जनाभन्दा बढी मानिसलाई किचेको थियो ।

मृत्यु हुनेमा ८ बालबालिका रहेका छन् । एक विवाह समारोहमा सहभागी भएर पैदल हिँडेर घर फर्किंदै गरेका उनीहरुलाई ट्रकले पेलेको प्रहरी अधिकारीले बताएका छन् ।

दुर्घटनामा परी १० जनाभन्दा बढी घाइते भएका छन् ।

यस्तै, महाराष्ट्रको पुणे–बैंग्लोर सडकखण्डमा एक कन्टेनरले ४८ वटा गाडीलाई ठक्कर दिँदा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

तीव्र गतिमा आएको उक्त कन्टेनर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण तीन किलोमिटर टाढासम्म ट्राफिक जाम भएको थियो ।