मलेसियामा महाथिरको जमानत जफत

मंसिर ४, २०७९
मलेसियामा महाथिरको जमानत जफत

क्वालालम्पुर । मलेसियामा सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले पराजय व्यहोरेका छन् । शनिबार भएको आमचुनावमा मलेसियामा २२ वर्ष शासन गरेका ९७ वर्षे महाथिरलाई धक्का लागेको हो ।

निर्वाचनमा पाँच प्रतिस्पर्धीमध्ये चौथो मात्र भएनन् उनको जमानत पनि जफत भएको छ । उनले खसेको मतको ८ प्रतिशत पनि ल्याउन नसकेपछि उनको जमानत जफत भएको हो । निर्वाचनमा उनको दलले एक सिट पनि जित्न सकेन । उनको यो लज्जास्पद हार भएको टिप्पणी गरिएको छ ।

यो पराजयले उनको राजनीतिक करिअरमा पूर्णविराम लाग्ने सम्भावना छ । एसिया प्रसान्तक्षेत्रमा बलियो प्रभाव भएका राजनेतामा पर्ने महाथिर दुई पटक मलेसियाको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् १९८१ को जुलाईमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । सन् १९८१ देखि २००३ सम्म मलेसियामा शासन गरेका उनी ९७ वर्षको उमेरमा पराजित हुन पुगे । महाथिरले सन् २०१८ मा पुनः पाकातान हारापन (पीएच) गठबन्धनको नेतृत्व गरेपछि चर्चामा आएका थिए । उनी प्रधानमन्त्री बन्ने विश्वकै सबैभन्दा बढी उमेरका राजनीतिज्ञ हुन्।

आम निर्वाचनमा कुनै पनि राजनीतिक गठबन्धनले बहुमत नल्याउने भएपछि त्रिशंकु संसद बन्ने भएको छ । विपक्षी नेता अनवर इब्राहिम नेतृत्वको राजनीतिक गठबन्धन र पूर्व प्रधानमन्त्री मुहिद्दिन यासिन नेतृत्वको राजनीतिक गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

त्रिशंकु संसद बन्न लागेको यो मलेशियाको इतिहासकै पहिलो पटक हो । प्रष्ट विजेताको अभावले सुस्त आर्थिक विकास र बढ्दो मुद्रास्फितिको सामना गरिरहेको मलेसियामा राजनीतिक अन्यौल कायमै रहने आशंका गरिएको रोयटर्सले उल्लेख गरेको छ । राजनीतिक अस्थिरताकै कारण मलेसियामा पछिल्ला तीन वर्षमा तीन प्रधानमन्त्री भएका छन् ।

सन् १९६९ यता उनले निर्वाचनमा पराजय व्यहोरेको यो पहिलो पटक हो । 

*शीर्षक परिवर्तन गरिएको ।

यो पनि...

मलेसियामा आठौंपटक प्रधानमन्त्रीको दाबी गर्ने को हुन् ९७ वर्षीय महाथिर ?