मलेसियामा आठौंपटक प्रधानमन्त्रीको दाबी गर्ने को हुन् ९७ वर्षीय महाथिर ?

मंसिर ३, २०७९ |मिमराज पाण्डेय
मलेसियामा आठौंपटक प्रधानमन्त्रीको दाबी गर्ने को हुन् ९७ वर्षीय महाथिर ?

काठमाडौं । नेपालमा भोलि (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि इन्जिनियरदेखि कमेडियनसम्म र युवादेखि ‘वरिष्ठ ज्येष्ठ नागरिक’सम्म चुनावी मैदानमा छन् ।

उता दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा पनि आज शनिबार अर्थात् मंसिर ३ मै १५औं आम निर्वाचन भइरहेको छ । दुई करोड बढी मतदाता र आठ हजार नौ सय ५८ मतदान केन्द्र भएको मलेसियाली चुनावका लागि झन्डै चार लाख निर्वाचन अधिकृत खटाइएको मलेसियाली निर्वाचन आयोगको भनाइ छ । यो निर्वाचनबाट प्रतिनिधिसभाका लागि २२२ सदस्य निर्वाचित हुनेछन् ।

उमेर ढल्केकै उम्मेदवारको आकर्षण

युवा पुस्ताका उम्मेदवारको आकर्षण मलेसियाको चुनावमा पनि छ । तर नेपालको जस्तै पाको उमेरका उम्मेदवार पनि त्यहाँको निर्वाचामा भिड्दै छन् । तीमध्ये मलेसियाका पूर्वप्रधानमन्त्री, ९७ वर्षीय महाथिर बिन मोहम्मद एक हुन् ।

को हुन् महाथिर ?

महाथिर आधुनिक मलेसियाका रचयिता हुन् । चिकित्सा पेसाबाट सक्रिय राजनीतिमा होमिएका महाथिरले रुग्ण मलेसियालाई समृद्ध मुलुकमा परिणत गरे । मलेसियाली जनताले उनलाई वरिष्ठ राजनेताको संज्ञा दिएका छन् । देशका लागि पुर्‍याएको योगदानकै कारण महाथिरलाई सिंगापुरका पूर्वप्रधानम्त्री ली क्वान यू बराबरकै दर्जा दिइन्छ ।

महाथिरको जन्म १० जुलाई, १९२५ मा उत्तरी मलेसियाको केडाह राज्यअन्तर्गत पर्ने अलोर सेतारमा भएको थियो । यद्यपि आधिकारिक अभिलेखअनुसार उनको जन्ममित २० डिसेम्बर छ । महाथिर एक सामान्य परिवारमा जन्मिएका भए पनि उनका बुबा एक अंग्रेजी भाषा स्कुलका सम्मानित शिक्षक थिए । महाथिरले इस्लामी व्याकरण स्कुलबाट हाइस्कुल तहको पढाइ पूरा गरेर त्यहाँकै स्थानीय कलेजमा स्नातक गरे । त्यसपछि उनले सिंगापुरको मलाया विश्वविद्यालयबाट मेडिकल शिक्षा प्राप्त गरे । राजनीतिमा लाग्नुभन्दा अगाडि उनी एक सैनिक चिकित्सकका रुपमा काम गर्थे । उनको जीवनमा एक यस्तो मोड आयो जहाँबाट महाथिर चिकित्सा पेसा त्यागेर मलेसियाको सबैभन्दा ठूलो राजनीतिक दल युनाइटेड मलेज नेसनल अर्गनाइजेसन ( यूएमएनओ) मा सक्रिय भूमिकामा जोडिए ।

उनी यसको नीति-निर्माता समूहको सर्वोच्च परिषद्‌मा समेत निर्वाचित भए । यूएमएनओको समर्थन बाटै उनले सन् १९६४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महाथिर सन् १९७४ मा मलेसियाका शिक्षामन्त्री पनि चयन भए । करिब तीन वर्ष अर्थात् १९७७ सम्म उक्त पदमा रहेर काम गरे । शिक्षामन्त्री रहँदै उनले उपप्रधानमन्त्रीको जिम्मेवारी पानि पाइसकेका थिए । यसका साथै रक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको समेत अनुभव प्राप्त गरिसकेका महाथिरले सन् १९८१ देखि २००३ सम्म लगातार र पुन: २०१८ देखि २०२० सम्म २२ वर्ष प्रधानमन्त्रीका रुपमा मलेसियाको सेवा गरिसकेका छन् । पछिल्लोपटक उनी संसारको सबैभन्दा बढी उमेरको प्रधानमन्त्रीका रुपमा समेत चर्चित बने ।

महाथिरका पुस्तक

महाथिर चिकित्सा पेसा र राजनीतिमा जति लोकप्रिय छन् । शैक्षिक तथा लेखन जगतमा पनि उनको नाम उत्तिकै स्थापित छ । महाथिरका द मलय डिलेमा, अ डक्टर इन द हाउस, क्यपचरिङ होप - द स्ट्रगल कन्टिन्युअस फर अ न्यु मलेसिया, द वे फरवर्ड महाथिर मोहम्मद एन्ड द मलेसियन करेन्सी क्राइसिस पुस्तक प्रकाशित छन् । उनको एसियाली आर्थिक संकटको पुनरुत्थानमा केन्द्रित अ न्यु डिल फर एसिया र आतंकवाद, विश्वव्यापीकरण, आर्थिक र कूटनीतिक सम्बन्ध, युद्ध तथा द्वन्द्वका मुद्दामा विश्व नेतालाई लेखेका १७ चिट्ठीहरुको संग्रह डक्टर महाथिरर्स : सेलेक्टेड लेटरर्स् टू वर्ल्ड लिडर्स् पनि उत्तिकै पढिने पुस्तक हुन् ।

मलेसियामा उनको योगदान

मलेसियाको अर्थव्यवस्था सुधारमा माथहिरको योगदान सर्वोच्च छ । उनले मलेसियाको अर्थव्यवस्था मात्र होइन, त्यहाँको सरकार, संस्कृति र सुशासनमा समेत महत्त्वपूर्ण परिवर्तन ल्याए । महाथिर मात्रै एक्लो हुन् जसले मलेसियाको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीत्व गर्न पाए ।

मलेसियाले तीव्र आर्थिक वृद्धि उनकै कार्यकालमा गर्न सक्यो । मलेसियालाई एक कृषिप्रधान पिछडिएको मुलुकबाट औद्योगिक शक्ति केन्द्रको रुपमा उनैले विकास गरे । महाथिरकै नेतृत्वमा मलेसियाको समृद्धिले तीव्रता पायो । मलेसियाका ग्रामीण जनाताका साथै त्यहाँका आदिवासी मलेहरुको हितका लागि पनि महाथिरले उल्लेख्य काम गरे । केबल दुईवटा मात्र विश्वविद्यालय भएको मलेसियालाई महाथिरले आफ्नो पहिलो कार्यकालमै थप १४ विश्वविद्यालय स्थापना गराए । उनकै नेतृत्वमा त्यहाँको कमजोर अर्थतन्त्र बलियो बन्यो । रुग्ण गाउँ र सहरहरु आर्थिक तथा औद्योगिक केन्द्रमा परिणत भए । सार्वजनिक शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रले पनि उत्तिकै फड्को मार्‍यो । महाथिरले विश्वस्तरमै मलेसियालाई एक समृद्ध मुलुकको पहिचान स्थापित गरे ।

यसपटक बाजी कसले मार्ला ?

मलेसियामा आज (शनिबार) चलिरहेको १५औं निर्वाचनमा महाथिर पनि उम्मेद्‌वार हुन् । उनकै उम्मेदवारीका कारण पनि यसपटकको मलेसियाली आमनिर्वाचन विश्वभर विशेष चासोका साथ हेरिएको छ । यसभन्दा अघि सातपटक मलेसियाको प्रधानमन्त्री भइसकेका ९७ वर्षीय महाथिर मोहम्मद एकातिर छन् भने यस चुनावपछि गठबन्धन सरकारको नेतृत्व गर्ने दौडमा विपक्षी दलका नेता अनवर इब्राहिम छन् । यद्यपि बहुमत कसको आउला र को विजयी होला भन्ने प्रस्ट आकलन गर्न भने कठिन छ । विपक्षी दलका नेता अनवर इब्राहिम गठबन्धनले यस चुनावमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण पनि गरिएको छ तर बहुमतको सरकार कसैको बन्न नसक्ने आकलन पनि अर्को छ ।


Image

मिमराज पाण्डेय

पाण्डेय कान्तिपुर टेलिभिजनका उपसम्पादक हुन् । सामाजिक सञ्जाल ‘एक्स’मा उनलाई @mrpandeya मार्फत सम्पर्क गर्न सकिन्छ ।