एपेकको शिखर बैठक : क्षेप्यास्त्र प्रक्षेपण र युद्धमै केन्द्रित

मंसिर ३, २०७९
एपेकको शिखर बैठक : क्षेप्यास्त्र प्रक्षेपण र युद्धमै केन्द्रित

बैंकक । एसिया प्रशान्त आर्थिक मञ्च (एपेक) को शिखर बैठक विविध विषयबारे छलफल गरेर शनिबार टुगिंएको छ । बैठकमा खुला व्यापारको प्रवर्द्धन, मुद्रास्फीति नियन्त्रणबाहेक भूराजनीतिक तनावले प्राथमिकता पाएको हो ।

विश्वको तनावग्रस्त क्षेत्र ताइवान मामिला, एपेकको औपचारिक बैठकअघि उत्तर कोरियाको लामोदूरीको अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण र रुसको युक्रेन युद्धले एजेन्डामा प्राथमिकता पाएको थियो ।

बैठकअघि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको संक्षिप्त कुराकानीमा राष्ट्रपति बाइडेनको जी-ट्वान्टी बैठकका दौरानमा भएको भेटघाटमा गरेको अडान दोहोर्याइन् । ह्यारिस र सीबीच शनिबार भएको भेटमा अमेरिका र चीनको द्विपक्षीय सम्बन्धमा खुला सञ्चार र सम्पर्क राख्नुपर्ने जोड दिइन् । पारस्परिक प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण ढंगबाट व्यवस्थापन गर्न सुझाइन् । ह्यारिसले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको आर्थिक दायित्व पनि रहेको जिकिर गरिन् ।

एसिया प्रशान्तमा खुला व्यापार क्षेत्रको प्रवर्द्धन गर्न कम्प्रिहेन्सिभ एन्ड प्रोग्रेसिभ अग्रिमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरसिपमा पनि विचार व्यक्त भएका थिए । त्यसमा अस्ट्रेलियाले ताइवानलाई संलग्न गर्ने आशयसहित कुनै पनि देशको दरखास्त लिन योग्यतामा आधारित हुने भनेको छ ।

अर्को वर्ष सन् २०२३ मा अमेरिकी सहर सान फ्रान्सिस्कोमा एपेकको ३०औं शिखर बैठक आयोजना हुने भएको छ । सन् २०२४ मा पेरुमा र सन् २०२५ मा दक्षिण कोरियामा आयोजना हुने भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिचलाई चिनियाँ राष्ट्रपति सीले अर्को वर्ष चीन भ्रमणका लागि आमन्त्रणसमेत गरेका छन् । यस्तै सीले अस्ट्रेलिया र न्युजिल्यान्डका प्रधानमन्त्रीहरुलाई भेटेर द्विपक्षीय सम्बन्धबारे छलफल गरेका थिए ।