नासाद्वारा चन्द्रमा जाने मानवरहित अन्तरिक्ष यानको सफल प्रक्षेपण

मंसिर १, २०७९
नासाद्वारा चन्द्रमा जाने मानवरहित अन्तरिक्ष यानको सफल प्रक्षेपण

न्युयोर्क । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानवरहित अन्तरिक्ष यान चन्द्रमातर्फ सफलतापूर्वक प्रक्षेपण गरेको छ । 'आर्टिमिश मिसन वान' नाम दिइएको यस अभियानअन्तर्गत नासाले आफ्नो अहिलेसम्मकै शक्तिशाली तथा करिब एक सयमिटर अग्लो स्पेश लन्च सिष्टम रकेट फ्लोरिडाको केनेडी स्पेश सेन्टरबाट बुधबार प्रक्षेपण गरेको हो । 

इन्धन चुहावट र अन्य प्राविधिक समस्याका कारण यसअघि दुई पटक यसको प्रक्षेपण रोकिएको थियो ।

अरायन नामको अन्तरिक्ष यान बोकेर उक्त रकेट चन्द्रमातर्फ उडेको हो । पहिलो परीक्षणमा उक्त यानमा कोही अन्तरिक्ष यात्री सवार नरहे पनि मिसन सफल भएको अवस्थामा आगामी दिनमा यसले अन्तरिक्ष यात्रु बोकेर चन्द्रमाको सतहमा अवतरण गर्नेछ । अहिले प्रक्षेपण गरिएको अन्तरिक्ष यान भने चन्द्रमा अवतरण गर्ने नभइ यसको चारैतिर घुमेर पुनः पृथ्वीमा फर्किनेछ । यसरी फर्किंदा यसलाई प्रशान्त महासागरमा अवतरण गराइनेछ ।

यही डिसेम्बरमा नासाले आफ्नो अपोलो सेभेन्टिन अभियानको पचासौँ वाषिर्कोत्सव मनाउँदैछ । अपोलो मिसनअन्तर्गत ५० वर्ष अघि अन्तिमपटक अन्तरिक्ष यात्रीहरुले चन्द्रमाको धरातलमा खुट्टा राखेका थिए । सन् १९६९ देखि १९७२ सम्म चलेका ६ वटा अपोलो मिसनअन्तर्गत १२ जना अन्तरिक्ष यात्रीले चन्द्रमा धरातलमा पाइला टेकेका थिए । चन्द्रमाको धरातलमा पहिलो पाइला टेक्ने अन्तरिक्ष यात्री भने निल आर्मस्ट्रोङ हुन् ।

उक्त अन्तरिक्ष यानलाई चन्द्रमाको सतहदेखि ९७ किलोमिटरभित्रको दूरीमा पुग्न २५ दिन लाग्ने जनाइएकोछ । त्यहाँबाट उक्त यान चन्द्रमाभन्दा करिब साढे ६४ हजार किलोमिटर टाढासम्म पुगेर फेरि पृथ्वी फर्किने रोयटर्सले जनाएको छ।

आर्टिमिस अभियानअन्तर्गत नासाले २०२५ सम्ममा पहिलो महिला अन्तरिक्ष यात्री र अर्को मानवलाई चन्द्रमाको धरातलमा ओराल्ने लक्ष्य राखेको छ । ग्रीक पौराणिक कथाअनुसार आर्टिमिश ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनी हुन् ।