एएफसी एसियन कप छनोटमा आज नेपालले भियतनामको सामना गर्दै

पहिलो खेलको हारपछि पुनरागमनको लक्ष्यमा नेपाल
आश्विन २८, २०८२ |खेल ब्युरो
एएफसी एसियन कप छनोटमा आज नेपालले भियतनामको सामना गर्दै

काठमाडौं । एएफसी एसियन कप २०२७ छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मंगलबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । 

हो चि मिन्ह सिटीस्थित थोङ न्यात स्टेडियममा खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुने छ । यो खेल नेपालका लागि होम म्याच भए पनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आयोजना गर्न अयोग्य भएपछि नेपालले विदेशी भूमिमा खेल्न लागेको हो ।

मंगलबार नेपाली राष्ट्रिय टोलीका अनुभवी मिडफिल्डर रोहित चन्द आफ्नो करिअरको १०० औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । कप्तान किरणकुमार लिम्बूपछि यस्तो माइलस्टोन पुरा गर्ने रोहित दोस्रो नेपाली खेलाडी बन्नेछन् ।यो खेल घरेलु टोली भियतनामका लागि अत्यन्तै महत्वपूर्ण हुनेछ । नेपालविरूद्ध जित हासिल गरेमा भियतनाम बाँकी रहेका ६ वटा एसियन कप स्थानका लागि बलियो दाबेदार रहनेछन् । 

हाल समूह 'एफ' मा भियतनाम ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । उ शीर्ष स्थानमा रहेको मलेसिया भन्दा तीन अंकले पछाडी छ । अंकबिहीन नेपाल समूहको पुछारमा छ । समूह विजेताले मात्रै साउदी अरबमा हुने एसियन कपका लागि सिधा टिकट पाउने भएकाले भियतनामलाई यो खेल नेपाललाई पराजित गर्ने लक्ष्यमा हुने छ ।

नेपाल भने पछिल्लो खेलमा भियतनामसँग ३-१ को हार बेहोरेसँगै छनोट यात्रा निकै कठिन बनेको छ । सो खेलमा लाकेन लिम्बुले रातो कार्ड बेहोरेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । सानिश श्रेष्ठले एनगुएन टिएन लिङको सुरूवाती गोल बराबरी गरे पनि दोस्रो हाफमा दुई गोल बेहोरेपछि नेपाल पराजित बनेको थियो । 

फिफा वरियतामा नेपाल १ सय ७६ र भियतनाममा १ सय १४औं स्थानमा छ ।