
रोल्पा । रोल्पाको रोल्पा अस्पतालमा शल्यक्रिया र प्रसूति सेवा बन्द भएको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा शल्यक्रिया र प्रसूति सेवा बन्द भएपछि बिरामीहरु समस्यामा परेका छन् । ११ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् ।
५० शय्याको रोल्पा अस्पतालमा दरबन्दी अनुसार ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने हो तर हाल एक जना पनि विशेषज्ञ चिकित्सक नभएपछि अस्पातालले सेवानै बन्द गरेको हो । अस्पतालमा दैनिक १ सयदेखि ३ सय बिरामी उपचारका लागि आउने गर्छन् ।
तर, चिकित्सक अभावका कारण अस्पतालमा शल्यक्रिया र जटिल प्रकृतिका प्रसुति सेवा अढाइ सातादेखि बन्द भएपछि बिरामीहरु समस्यामा परेका छन् । शल्यक्रिया सेवा बन्द हुँदा बिरामीहरु उपचारका लागि दाङ, बुटवल, नेपालगञ्ज, काठमाडौँ जानुपर्ने बाध्यता सिर्जना भएको छ ।
२०६१ सालमा स्थापना भएको रोल्पा अस्पतालमा ११औँ तहको मेडिकल सुपरिन्टेन्डेन्टसहित ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने हो । तर, गत माघदेखि अस्पताल निमित्तका रुपमा मेडिकल अधिकृतले सेवा सञ्चालन गर्दै आएका छन् ।
सरकारी दरबन्दीमा चिकित्सकहरु नआएपछि निक साइमन इन्स्टिच्युटको सहयोगमा माघ याता विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्दै आएको थियो । तर, उक्त संस्थाले पाँच वर्षे सेवा अवधि पूरा गरेर चिकित्सक फिर्ता गरेसँगै विशेषज्ञ चिकित्सक अभावका कारण शल्यक्रिया सेवा बन्द भएको अस्पतालको भनाइ छ ।
अहिले अस्पतालमा हाल ६ जना मेडिकल अधिकृतले सेवा दिँदै आएका छन् । अस्पतालमा जनशक्ति अपुग भएको बारेमा सरोकारवाला जानकार भए पनि कसैले चासो दिएका छैन । त्यति मात्रै होइन, अस्पतालले शव राख्ने फ्रिज बिग्रिएपछि मर्मत समेत गर्न सकेको छैन ।
त्यसो त रोल्पा अस्पतालमा दरबन्दी रहेका विशेषज्ञ चिकित्सक आउनै मान्दैनन् र आएका पनि निश्चित समयअवधि भन्दा छिट्टै नै सुगम ठाउँमा सरुवा गरेर जाने गरेका छन् । जसका कारणले अस्पतालमा जनशक्तिको अभाव सधैँ हुँदै आएको छ ।