
हुम्ला । हुम्लामा भिटामिन 'ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण अभियान प्रभावित भएको छ ।
पाँच वर्षमुनिका बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील कार्यक्रममा समेत समयमै औषधि पुग्न नसक्नु चिन्ताको विषय भएको सरोकारवालाले जनाएका छन् । बालबालिकालाई लक्षित गरी सञ्चालन हुने यस महत्वपूर्ण अभियानमा औषधि आपूर्तिमा भएको ढिलाइका कारण सेवा प्रवाह अवरुद्ध भएको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरबीर शाहीले बताउनुभयो ।
संयोजक शाहीले औषधि आपूर्तिमा भएको ढिलाइका कारण बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्ने जोखिम बढाएको पनि बताउनुभयो । त्यसैगरी पूर्वतयारी र समन्वयमा गम्भीर कमी रहेको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा कार्यालयले देखाएको असहजता र कर्णाली प्रदेश आपूर्ति केन्द्रको ढिलाइबीचको समन्वय अभावले अन्ततः हुम्लाका बालबालिका प्रभावित भएको पनि बताउनुभयो । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत यही वैशाख ६ र ७ गते देशभर एकैसाथ सञ्चालन हुने भिटामिन 'ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानका लागि कम्तीमा एक हप्ताअघि नै सम्बन्धित स्वास्थ्य संस्थामा औषधि पुगिसक्नुपर्ने व्यवस्था छ ।
तर, यस पटक वैशाख ४ गते मात्र कर्णाली प्रदेश औषधि आपूर्ति केन्द्रले औषधि उपलब्ध गराएपछि औषधि ढुवानीका क्रममा रहेकाले जिल्लाका सबै स्थानीय तहमा समयमै वितरण गर्न सकिएको छैन ।