स्वास्थ्य सेवामा पहुँच बढाउन लालझाडीमा विशेषज्ञ शिविर

असार १२, २०८३ |हरिश्चन्द्र बाग
स्वास्थ्य सेवामा पहुँच बढाउन लालझाडीमा विशेषज्ञ शिविर

धनगढी। दूरदराजका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लालझाडी गाउँपालिका स्वास्थ्य शाखाले बिहीबार निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

लालझाडी आधारभूत अस्पताल, नन्द गाउँमा आयोजित शिविरमा सेवाग्राहीको उल्लेख्य उपस्थिति देखियो । केयरटेकर हस्पिटल प्रा.लि. धनगढीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा हाड जोर्नी तथा नसा रोग, जनरल फिजिसियन, दन्त उपचार, आँखा जाँच, एक्स-रे, इसीजी र रगत परीक्षणजस्ता सेवा निःशुल्क प्रदान गरियो । 

विशेष गरी महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा सञ्चालन गरियो । रोगको प्रकृति अनुसार औषधि निःशुल्क वितरण गरिनुका साथै जटिल बिरामीलाई थप उपचारका लागि रेफरल सेवासमेत उपलब्ध गराइयो । बिहिबार सञ्चालन भएको शिविरबाट दुई सयभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

हालै निर्माण सम्पन्न भएको लालझाडी आधारभूत अस्पताल अनौपचारिक रूपमा सञ्चालनमा छ । तर, अस्पतालमा हाल एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् । आवश्यक जनशक्ति, थप विशेषज्ञ चिकित्सक तथा आधुनिक स्वास्थ्य उपकरणको अभाव अझै देखिन्छ । 

स्थानीयबासीले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न थप सेवा विस्तारको माग गरेका छन् । सामान्य अवस्थामा विशेषज्ञ सेवा लिन धनगढी वा महेन्द्रनगर पुग्नुपर्ने बाध्यता यहाँका स्थानीयलाई छ । गाउँमै यस्ता शिविर सञ्चालन हुँदा तत्काल राहत मिलेको छ । तर, दीर्घकालीन समाधानका लागि अस्पतालमै पर्याप्त चिकित्सक र उपकरण आवश्यक देखिन्छ ।

गाउँपालिकाले अस्पतालमा क्रमशः थप विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ । ग्रामीण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै स्थानीय तहबाट उपलब्ध गराउने लक्ष्यसहित पूर्वाधार र सेवामा थप लगानी गरिने पालिकाको भनाइ छ । 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।