बन्द हुने अवस्थामा पुगेको वैद्यखाना कसरी बन्यो नाफामुखी ?

असार ८, २०८३ |कृपाल गौतम
बन्द हुने अवस्थामा पुगेको वैद्यखाना कसरी बन्यो नाफामुखी ?

काठमाडौं । तीनसय वर्षको इतिहास बोकेको छ- सिंहदरबार वैद्यखानाले । तर, पछिल्लो वर्षहरूमा अधिकांश समय बन्दै रहने, औषधि उत्पादन गर्न चासै नदिने, घाटै घाटाले घिटीघिटी हुने अनि राजनीतिक हस्तक्षेपका कारण यो संस्था इतिहासमै सीमित हुने खतरा बढेको थियो । तर, गुड न्युज, अहिले वैद्यखानाले नियमित औषधि उत्पादन मात्र गरिरहेको छैन, असाधारण कमाइ पनि गरिरहेको छ ।

एक वर्षमै ३ सय ३३ प्रतिशतको कमाइ वृद्धि । कल्पना गर्नुस् त यो कुन कम्पनीको होला ?

तपाईँलाई लाग्दो हो- यो कुनै मल्टिनेसनल अथवा कुनै आईटी कम्पनीको । हुन पनि बजार अहिले यिनैको छ ।

तर म भनूँ- यो असाधारण वृद्धि हो नेपाली सरकारी कम्पनीको । त्यो पनि यस्तो कम्पनी जसलाई कुनै समय अत्यधिक घाटामा गएकाले बन्द गर्नुको विकल्प छैन भनिन्थ्यो । अर्थात् सिंहदरबार वैद्यखानाको ।

आर्थिक वर्ष २०८१/८२ मा वैद्यखानाले ३ करोड आसपासको कारोबार गरेको थियो । अहिले चलिरहेको आर्थिक वर्षमा वैद्यखानाको कमाइ १३ करोड आसपास छ । यसमध्ये खुद नाफा ४ देखि ५ करोड हुने अनुमान छ ।

वैद्यखाना बौरिएको अर्को उदाहरण के पनि हो भने गएको साउनबाट यसले उत्पादन गर्ने ओखतीको संख्या पनि बढेको छ । त्यसअघि कनीकुथी १८-२० प्रकारका ओखती उत्पादन गर्दै आएको वैद्यखानाले अहिले १ सय ५ प्रकारका ओखती बनाउँछ । अहिले सरकारले निःशुल्क बाँड्दै आएको ३५ प्रकारका ओखतीमध्ये ३२ वटा यसैको उत्पादन हो ।

आखिर के भयो यो एक वर्षमा ? रुग्ण हुन लागेको उद्योग कसरी चम्कियो ?

सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार संस्था उँभो लाग्नुको एउटा प्रमुख कारण हो- राजनीतिक हस्तक्षेपको निराकरण । कुनै समय राजनीतिक दलसँगको निकटताका आधारमा हुने नियुक्ति र कच्चा पदार्थ खरिदमा समेत झल्किने सिन्डिकेटले औषधि उत्पादन प्रभावित हुने गरेको थियो । 

जुन अहिले सुध्रिँदै गएको छ । अहिले नयाँ आपूर्तिकर्ताले समयमै चाहिएको कच्चा पदार्थ उपलब्ध गराउँदा उत्पादनले गति लिन थालेको छ । आयुर्वेद औषधि उत्पादन गर्ने देशको एक मात्र सरकारी संस्था वैद्यखानाको काम गर्ने तौरतरिका पनि अहिले व्यापक बदलिएको छ । न शनिबार, न आइतबार । अनि न कुनै सार्वजनिक बिदा । वैद्यखानामा अहिले सातै दिन काम चल्छ ।

शिलाजित, च्यवनप्राश, सितोपलादी चूर्ण, त्रिफलाजस्ता औषधि किन्न आउनेहरू रित्तो हात फर्कनुपरेको पनि छैन । यहाँको उत्पादन अहिले काठमाडौँको काउन्टरमा मात्र बिक्री हुँदैन । सातै प्रदेशका १ सय ५० काउन्टरमा जीटूजी खरिदमार्फत वैद्यखानाको औषधि पुगेको छ ।

तर, वैद्यखानाको केही दृश्य खिन्न बनाउने पनि छन् । यस्ता पुराना उपकरण अनि प्रविधिको युगमा पनि हातैले प्याकेजिङदेखि लेबलिङ गर्ने दृश्यले वैद्यखानाको प्रगतिलाई गिज्याइरहेका छन् । यद्यपि मृत्युशय्याबाट बौरिएको संस्थालाई सरकारले पनि थोरै टेको लगाइदिने हो भने पहिलेझैँ अन्तराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्ने उद्योग बन्नसक्ने वैद्यखाना विकास समितिको दाबी छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।