दुईदिने बिदाले ग्रामीण स्वास्थ्य सेवा प्रभावित, बिरामी मारमा

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
दुईदिने बिदाले ग्रामीण स्वास्थ्य सेवा प्रभावित, बिरामी मारमा

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि ग्रामीण क्षेत्रका बिरामीहरू मारमा परेका छन्। 

घन्टाैं लगाएर अस्पताल पुगे पनि बिदाका कारण समयमै उपचार नपाउँदा निराश भएको उनीहरूको गुनासो छ । सीमित जनशक्तिका बीच सेवा दिँदै आएका अस्पतालले भने अहिलेको जनशक्तिबाट सेवा दिन नसकिने बताएका छन् ।

रोल्पामा निजी अस्पतालसमेत नभएकाले जिल्लाका बासिन्दा रेउघास्थित ५० शैयाको सरकारी अस्पतालमा निर्भर छन्। तर, हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयले रोल्पा जस्तो भौगोलिक विकटता भएका जिल्लाका बिरामीले अपेक्षाअनुसार उपचार नपाएको गुनासो गरेका छन्। 

बिरामीहरू सामान्य चेकजाँचमै सीमित भई घर फर्किन बाध्य भएका छन्। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दुईदिन बिदा दिने निर्णय सच्याउनुपर्ने माग सेवाग्राहीको छन्। रोल्पा अस्पतालमा ११औं तहका मेडिकल सुपरिटेन्डेन्टसहित ११ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । तर, वषौंदेखि आठौं तहको निमित्त मेडिकल अधिकृतको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । 

सीमित जनशक्तिका बीच सेवा दिँदै आएको अस्पतालले भने अहिले कार्यरत जनशक्तिबाट मात्र बिदाको दिन सेवा दिन नसक्ने जनाएको छ । अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर नहुँदा स्थानीयलाई उपचारका लागि दाङ, बुटवल, नेपालगञ्ज र काठमाडौं धाउनु पर्ने बाध्यता छन् । तर, सरकारको यो निर्णयले आइतबार आधारभूत सेवासमेत पाउँन मुस्किल रहेको सेवाग्राहीको गुनासो छ।

उता जुम्लामा पनि दुईदिने बिदाको कारण दुर्गमका नागरिकहरू स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । सधैंजसो शनिबारपछि आइतबार स्वास्थ्य संस्थामा आउने बिरामीहरू सरकारले बिदा दिएपछि अन्योलमा पर्दै फर्किएका छन् । जुम्लाका दुर्गम क्षेत्रमा स्वास्थ्यचौकीहरूसमेत घरपायक नुहँदा बिरामीहरूलाई समस्या परेको छ ।

जुम्लामा एक नगरपालिका, सात गाउँपालिकामा ६० वटा वडाहरू छन् । यहाँ ६७ वटा स्वास्थ्य संस्था रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांक छ । तर, सरकारले दिएको दुईदिन बिदाले स्वास्थ्य क्षेत्रमा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । 

जटिल प्रकारका बिरामीहरू सोझै अस्पताल आए पनि सामान्य बिरामीहरू स्वास्थ्य चौकीहरूमा भर पर्नुपर्ने अवस्था छ । यो बिदा अन्यको हकमा ठिक भए पनि स्वास्थ्य र शिक्षा क्षेत्रको हकमा राम्रो नभएको स्वयम स्वास्थ्यकर्मीहरू बताउँछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पनि आइतबारको बिदाले अत्यावश्यक सेवामा भिडभाड बढेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.