
काठमाडौं । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२ कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड-२०८२ कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले नेपालका सातवटै प्रदेशबाट छनाेट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गर्नु भएको हो ।
पूर्वस्वास्थ्यमन्त्री शर्माले आफूभन्दा वरिष्ठ, समकक्षी र कनिष्ठ स्वास्थ्यकर्मीहरूलाई हेल्थ अवार्डसहित सम्मान गर्न पाउँदा आफू नै सम्मानित भएको महसुस गरेको बताउनुभयो । “स्वास्थ्यमन्त्री भएका बेला सातवटै प्रदेशमा पुगेर स्वास्थ्यकर्मी र कर्मचारीहरूको समस्या बुझेँ” उहाँले भन्नुभयो, “धेरै समस्याहरू छन् । कतिपय कर्मचारीहरूको स्तर वृद्धि हुन सकेको छैन । कतिपय नर्स, चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले विशेषज्ञ सेवाहरू दिइरहेका छन् तर पदको अभावमा पुरानै पदमा रहेर काम गरिरहनु भएको छ ।” यी सबै समस्याहरूको समाधानका लागि ऐन संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य प्रभा ढकालले स्वास्थ्यकर्मीहरूले आफ्नो परिवारलाई समय दिन नभ्याएरै पनि बिरामीको सेवामा समय दिइरहनु भएको बताउनुभयो । “स्वास्थ्यकर्मीहरू निस्वार्थ भावले बिरामीको सेवामा खटिइरहनु भएको छ” उहाँले भन्नुभयो, “म आफू पनि स्वास्थ्यकर्मी भएको नाताले स्वास्थ्य क्षेत्रका समस्याबारे म जानकार छु । यी समस्या समाधानका लागि ऐन संशोधन गर्नुपर्नेछ, स्वास्थ्यकर्मीहरू पनि सुध्रिनु पर्नेछ ।”
नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मीका समस्याबारे बोलिदिने कोही नभएको गुनासो गर्नुभयो । “सेवाका नाममा स्वास्थ्यकर्मीहरूलाई कतिञ्जेल पेल्ने ?” उहाँले भन्नुभयो, “यो मुलुकमा राष्ट्रपति, मन्त्री र सचिव नै चिकित्सकहरू भइसक्नु भएको छ तर स्वास्थ्यकर्मीका समस्याहरू प्रभावकारीरूपमा सम्बोधन हुन सकेको छैन ।”
स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रमको सञ्चालन उपप्राध्यापक शोभाखर अधिकारीले गर्नुभएको थियो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले स्वास्थ्यकर्मीहरूको सम्मानमा हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।