आइतबार ओपीडी सञ्चालन गर्न चिकित्सक संघद्वारा अस्वीकार

चैत्र २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
आइतबार ओपीडी सञ्चालन गर्न चिकित्सक संघद्वारा अस्वीकार

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै जनशक्ति अभाव र व्यवहारिक कठिनाइ देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारेको हो । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सन्दर्भमा मन्त्रालयले अस्पतालहरूलाई कार्यबोझ हेरेर आइतबार पनि ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरेको थियो। 

मन्त्रालयको उक्त अनुरोधप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालहरूमा थप जनशक्ति व्यवस्थापन नगरी साविककै कर्मचारीबाट अतिरिक्त सेवा दिन सम्भव नभएको संघको ठहर छ। चिकित्सक र स्वास्थ्यकर्मीहरू १०–४ को डिउटी बाहेक पनि अनकल, राउन्ड र इमर्जेन्सी लगायतका सेवामा चौबीसै घन्टा खटिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । 

फरक–फरक दिन बिदा दिँदा स्वास्थ्य संस्थामा एकरूपता नहुने र यसले बिरामीहरूमा अन्योल तथा झन्झट सिर्जना भई स्वास्थ्य सेवामै असर पुग्ने संघको दाबी छ । इन्धन अभावका कारण दुई दिन बिदा दिने निर्णय गरिएको अवस्थामा ओपीडी समय बढाएर थप इन्धन खर्च गर्नु अव्यवहारिक भएको समेत संघले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.