स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ : उपराष्ट्रपति यादव

चैत्र २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माण र कार्यक्रम कार्यान्वयनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कार्यक्रममा उपराष्ट्रपति यादवले वैज्ञानिक तथ्य र तथ्यांकका आधारमा स्वास्थ्य नीति निर्माण गर्नु संवैधानिक दायित्व भएको बताउनुभएको हो । उहाँले स्वास्थ्य अनुसन्धानलाई केवल शैक्षिक अभ्यासमा मात्र सीमित राख्न नहुने बताउनु भयो । 

उपराष्ट्रपति यादवले स्वास्थ्य अनुसन्धानले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धनमा रणनीतिक मार्गदर्शन प्रदान गर्ने बताउनु भयो । उहाँले अनुसन्धानका निष्कर्षहरूले चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यावहारिक दक्षता अभिवृद्धिमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभइ आवश्यकता बनिसकेको बताउनुभएको हो । 

सचिव देवकोटाले अनुमानका भरमा नभइ विश्वसनीय तथ्याङ्क र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरूदण्ड भएको स्पष्ट पार्नुभयो । विश्वव्यापी रूपमा देखापरेका संक्रामक रोग, नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीहरूलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अहिले झनै बढेको उहाँको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.