
काठमाडौं । नेपालमा हालसम्म ९८ लाख ७४ हजार ४ सय १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । तर, अहिले सक्रिय बीमितहरू जम्मा ५४ लाख ७० हजार ४ सय ३ मात्र छन् ।
४० प्रतिशत नागरिकले अझै बीमा नवीकरण नगरेको स्वास्थ्य बीमा बोर्डको तथ्यांक छ । झन्झटिलो सेवा, भनेअनुसारको औषधि नपाउनेलगायतका कारण बीमितहरूले नवीकरण नगरेको गुनासो गरेका छन् । अर्कोतर्फ बोर्डले अस्पतालहरूलाई १५ अर्ब सोधभर्ना दिन बाँकी छ।
बोर्डका अनुसार बीमितहरूको बीमाबापतको वार्षिक करिब ४ अर्ब उठ्छ भने सरकारले १० अर्ब दिन्छ । अर्थात् बोर्डले वार्षिक १४ अर्बको हाराहारीमा रकम उठाउँछ भने करिब २३ अर्ब खर्च हुने भएकाले रकम पर्याप्त नभएको बोर्डको भनाइ छ ।
यता स्वास्थ्य मन्त्रालयका सचिव समेत आफूले स्वास्थ्य मन्त्रालय सम्हाले यता सबैभन्दा बढी गुनासो स्वास्थ्य बीमामा आउने गरेको बताउनुहुन्छ । हरेक पटक सरकार परिवर्तनसँगै बीमा सुधार गर्ने प्राथमिकता रहेको बताए पनि समस्या भने बर्षेनि उस्तै छ ।