काठमाडौं । नेपालमा स्वास्थ्य बीमा सुरू भएको १० वर्ष भयो ।
कैलालीबाट सुरू भएको स्वास्थ्य बीमा अहिले देशका ७७ जिल्लामा लागू छ । तर, नागरिकहरू अझैपनि बीमा सेवामा सन्तुष्ट छैनन् । एकातर्फ बीमित नै असन्तुष्ट र अर्कोतर्फ अस्पतालहरूले समयमै भुक्तानी नपाएकाले सेवा सञ्चालनमै समस्या भएको गुनासो गरीरहँदा सरकार पनि यो सेवाबाट सन्तुष्ट देखिँदैन ।
बुधबार स्वास्थ्य बीमा बोर्डले १०औं स्थापना दिवसको अवसर पारेर बीमामा भएका सुधार र देखिएका असन्तुष्टिबारे जानकारी गरायो । तर, कार्यक्रममा श्रममन्त्रीले स्वास्थ्य मन्त्रालयको नेतृत्वकै कारण यो समस्या देखिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई सच्चिन अनुरोध गर्नुभयो ।
मन्त्री दीपक शाहले मन्त्रालयको नेतृत्व भन्दै कर्मचारी प्रशासनकै कारण स्वास्थ्य बीमा प्रभावकारी हुन नसकेको आरोप लगाउनुभयो। सरकारले सुरू गरेको स्वास्थ्य बीमा कार्यक्रमको १० वर्ष पार गरेको अवसरमा बुधबार स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो श्रम तथा रोजगार मन्त्री दीपककुमार साह।
कार्यक्रममा बोर्डका पदाधिकारीहरूले आफ्ना समस्या र सिमितताहरू सुनाउँदै गर्दा मन्त्री शाह भने स्वास्थ्य मन्त्रालय र बीमा बोर्डमाथि नै खनिनुभयो। मन्त्रालयको नेतृत्वकै कारण बीमा कार्यक्रम सफल हुन नसकेको निष्कर्ष सुनाउँदै उहाँले नेतृत्वलाई सच्चिन आग्रह गर्नुभयो।
मन्त्री शाहले राजनीतिक नेतृत्वले नभइ कर्मचारी प्रशासनकै कारण देशको विकास हुन नसकेको आरोप लगाउनुभयो। मन्त्री शाहले कर्मचारी प्रशासनमाथि तिक्त टिप्पणी गरिरहँदा कार्यक्रममा उपस्थित कर्मचारीहरू भने ताली बजाइरहेका थिए। बीमा बोर्डका पदाधिकारीहरूले रबर स्टाम्पको रूपमा मात्र काम गरेको उल्लेख गर्दै मन्त्री शाहले बोर्डका सदस्यहरूलाई बोर्डले गर्ने निर्णयबारे थाहै नहुने गरेको टिप्पणी गर्नुभयो।
हाल स्वास्थ्य बीमा बोर्डका अध्यक्ष नेकपा एमालेका नेता सूर्यबहादुर थापाका भाइ चन्द्रबहादुर थापा हुनुहुन्छ। उसो त ९ सदस्यीय बोर्डमा २०८० मंसिरदेखि मन्त्री शाहकै पत्नी जुनु श्रेष्ठ पनि सदस्य हुनुहुन्छ। बीमा बोर्डको असफलताबारे टिप्पणी गरिरहँदा मन्त्री शाहले आफ्नो विज्ञताबारे पनि स्पष्ट पार्न भ्याउनुभयो। त्यसैका आधारमा उहाँले दाबी गर्नुभयो - नागरिकको पक्षमा बोर्डले काम नै गरेको छैन।