सुविधा सम्पन्न भवनबाट सेवाप्रवाह गर्दै सिलुवा र जल्पा स्वास्थ्य चौकी

चैत्र २१, २०८२ |माधव अर्याल
सुविधा सम्पन्न भवनबाट सेवाप्रवाह गर्दै सिलुवा र जल्पा स्वास्थ्य चौकी

पाल्पा । टहराबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएका पाल्पाको पूर्वखोला गाउँपालिकास्थित सिलुवा र जल्पा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

अलग अलग सेवाका लागि छुट्टै कोठासहितको सुविधा सम्पन्न भवनबाट सेवाप्रवाह सुरु भएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयाे । पूर्वखोला–२, जल्पाको स्वास्थ्य चौकी भवन २ करोड ६ लाख लागतमा निर्माण सम्पन्न भएको छ । 

जसमा संघीय सरकारबाट १ करोड ८७ लाख, लुम्बिनी प्रदेश सरकारको १५ लाख र स्थानीय सरकार पूर्वखोला गाउँपालिकाको ४ लाख खर्च रहेको छ । सिलुवा स्वास्थ्यचौकीमा निर्माण भएको भवनका लागि संघीय सरकारको १ करोड ६५ लाख ५३ हजार बजेट खर्च भएको छ । २ करोड १२ लाख ६६ हजार लागत अनुमान रहे पनि निर्माण व्यवसायीले २२.१५ प्रतिशत घटेर काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयाे । 

सिलुवा स्वास्थ्य चौकी भवनको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारू, अर्थ उद्योग तथा पर्यटन समितिका सभापति तथा पाल्पा निर्वाचन क्षेत्र १ (१) का लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठ र गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले एक समारोहका बीच उद्घाटन गरेका छन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।