
अर्घाखाँची । अर्घाखाँची अस्पतालमा रेबिजविरूद्धको खोप तथा पोलिएको घाउमा प्रयोग गरिने औषधिको अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
अस्पतालमा आवश्यक औषधि नहुँदा दैनिक रूपमा उपचारका लागि आउने सेवाग्राहीहरू निजी मेडिकलमा महगो मूल्यमा किनेर लगाउन बाध्य बनेका छन् । विशेषगरी कुकुर तथा अन्य जनावरको टोकाइपछि लगाइने रेबिज खोप नपाउँदा बिरामीहरू निजी मेडिकल वा अन्य जिल्लाका अस्पताल धाउन बाध्य छन् ।
यसले समयमै उपचार नपाउने जोखिम बढाउनुका साथै आर्थिक भार पनि थपिएको स्थानीय ज्ञान प्रसाद उपाध्ययले गुनासो गर्नु भयो । जिल्ला अस्पतालमा दैनिक छाडा कुकुरले टोकेका १० देखि १५ जनासम्म बिरामी आउने गरेका छन् । आगो तथा तताएको वस्तुबाट पोलिएका बिरामीका लागि आवश्यक मलहमको औषधि पनि प्रर्याप्त छैन ।
आवश्यक औषधि नहुँदा प्राथमिक उपचारमै समस्या भइरहेको छ । अस्पताल प्रशासनका अनुसार आपूर्ति प्रक्रियामा ढिलाइ तथा प्रदेशले खरिद नगरेका काराण औषधि आपूर्तिमा समस्या आएको हो । सम्बन्धित निकायसँग पटक–पटक माग गरिए पनि समयमै औषधि उपलब्ध हुन नसकेको जनाइएको छ ।
स्थानीय बासिन्दाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही अस्वीकार्य भएको भन्दै तत्काल औषधि उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । बिरामीको ज्यानसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले छिटो समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ । रेबिजविरूद्धको खोपलाई बाहिर किन्न ६ सय ४५ रुपैयाँ पर्दछ ।