कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा घरदैलोमै स्वास्थ्य सेवा, ग्रामीण पहुँच सुधार्दै नयाँ आशा

चैत्र १८, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा घरदैलोमै स्वास्थ्य सेवा, ग्रामीण पहुँच सुधार्दै नयाँ आशा

कञ्चनपुर । पश्चिम नेपालका ग्रामीण भेगमा अझै पनि नागरिकमा आधारभूत स्वास्थ्य सेवा पहुँच निकै कमजोर छ । 

पहाडी र हिमाली भूभागमा त परको कुरा, सुगम मानिएका तराईका ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा पहुँच धेरैका लागि सहज छैन । यस्तै असहजतालाई मध्यनजर गर्दै कञ्चनपुरको लालझाडी गाउँपालिकाले भने आफ्ना गाउँवासीलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । 

कञ्चनपुरको लालझाडी गाउँपालिका, जहाँ अझै पनि आधारभूत बाहेकका स्वास्थ्य सेवाको पहुँच वृद्धि भइसकेको छैन । स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी, भौगोलिक विकटता, कमजोर पूर्वाधार र सीमित स्रोतसाधनका कारण यहाँका नागरिक लामो समयसम्म स्वास्थ्य सेवाबाट वञ्चित थिए । तर, पछिल्ला केही वर्षयता त्यो अवस्था बिस्तारै परिवर्तन हुँदैछ । 

पछिल्लो चार वर्षयता गाउँपालिकाले 'नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम' अन्तर्गत स्वास्थ्यकर्मीको टोली टोलबस्तीमा पुगेर नागरिकको घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । यस कार्यक्रमअन्तर्गत ३० वर्षमाथिका नागरिकको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी समस्या र मोटोपनको परीक्षण गरिँदै आएको छ । 

साथै नसर्ने रोगको पहिचान, आवश्यक औषधि वितरण र स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिँदै छ । विशेष गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गर्दै स्वास्थ्य टोली घरघरमै पुगिरहेको छ । यो अभियानले दादुरा, कालाजार, हात्तीपाइले, क्षयरोग र कुष्ठरोग जस्ता सङ्क्रामक रोग नियन्त्रणमा समेत ध्यान दिएको छ भने मानसिक स्वास्थ्यसम्बन्धी परामर्शसमेत सुरू गरिएको छ ।

पहिले सामान्य स्वास्थ्य जाँचका लागि पनि टाढा धाउनुपर्ने बाध्यता थियो । खर्च र समय दुवैका कारण धेरै नागरिक उपचारबाट टाढा रहने अवस्था थियो । तर, अहिले स्वास्थ्य सेवा घरदैलोमै पुगिरहेको छ । यो अभियानले लालझाडीका नागरिकमा राहत मात्रै होइन, नयाँ आशा पनि पलाएको छ ।

२०७९/०८० बाट सुरू गरिएको यस अभियानअन्तर्गत पहिलो वर्ष महिला १६४१ र पुरूष १२५० गरी जम्मा २८९१ जना, दोस्रो वर्ष महिला १९९७ र पुरूष ११३३ गरी जम्मा ३१३० जना र तेस्रो वर्ष महिला २११२ र पुरूष १४५० गरी जम्मा ३५६२ जनाले सेवा लिएको तथ्याङ्क लालझाडी गाउँपालिकासँग छ । तर, यो कार्यक्रम वर्षमा सीमित समयका लागि मात्रै सञ्चालन हुने भएकाले सबै नागरिकसम्म निरन्तर सेवा पुर्‍याउन कठिन देखिन्छ । 

त्यसैगरी, लालझाडीमै निर्माण सम्पन्न भएको १० शय्याको आधारभूत अस्पताल विशेषज्ञ चिकित्सक र आवश्यक उपकरण अभावका कारण अझै सञ्चालनमा आउन सकेको छैन । पालिकाले अल्पकालीन रूपमा स्वास्थ्य सेवा अहिले घरदैलोमा पुर्‍याइरहेको छ । तर, दीर्घकालीन रूपमा यसलाई प्रभावकारी बनाउन जनशक्ति, उपकरण र पूर्वाधारमा लगानी आवश्यक देखिन्छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।