
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनि पुगेको बताउनुभएको छ ।
स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिब पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताउनुभएको हो ।
उहाँले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गर्नुभयो । नेपालमा औषधि सस्तो रहेको दाबी गरिए पनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उहाँको भनाइ छ । उहाँले औषधि र स्वास्थ्य सेवा दुवैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उहाँले बताउनु भयो । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने बताउनु भयो । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उहाँको तर्क छ ।
उहाँले नेतृत्वमा ईच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानुन संशोधनमा ढिलाइ हुने गरेको बताउनु भयो । बिक्री-वितरण आचारसंहितालगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उहाँको भनाइ छ । उहाँले ३५ वटा औषधि उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि आवश्यक स्वीकृति र नीतिगत निर्णय नहुँदा उत्पादन रोकिएर बसेको जानकारी दिनुभयो ।
उहाँले आगामी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक कानुनी सुधार गर्ने जानकारी दिनुभयो । अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही परिषद् र समितिले काम नगरेको गुनासो आएको बताउनु भयो ।
काम नगर्ने परिषद् तथा समितिलाई अब बन्ने सरकारले खारेज गर्ने र नयाँ बनाउने उहाँले बताउनु भयो ।