बुटवलमै जटिल रोगको परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

श्रावण १९, २०८३ |अमृता अनमोल
बुटवलमै जटिल रोगको परीक्षण, काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

बुटवल । जटिल रोगको पहिचानका लागि लुम्बिनी प्रदेशका बिरामीले काठमाडौं धाउनुपर्ने बाध्यता हट्दै गएको छ । 

बुटवलमा अत्याधुनिक प्रविधिसहित प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन भएपछि रोग पहिचानका लागि काठमाडौं धाउनेपर्ने बाध्यता हटेको हो । बुटवलको तामनगरमा २०८० सालदेखि सञ्चालनमा भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जटिल रोगको पहिचानदेखि महामारी नियन्त्रणसम्मको जिम्मेवारी सम्हालेको छ । 

जहाँ डेंगु स्क्रब टाइफस, औलौ ज्वरो, क्षयरोग, एचआईभी, हेपाटाइटिस, कोभिड–१९ जस्ता संक्रामक रोग मात्रै नभइ मधुमेह, कलेजो, मिर्गौला, थाइराइड, कोलेस्ट्रोललगायतका नसर्ने रोगको पनि परीक्षण हुन्छ । रगत, पिसाब, दिसा, थुक र अन्य जैविक नमूना अत्याधुनिक उपकरणमार्फत परीक्षण हुन्छ । 

लुम्बिनी प्रदेश सरकार मातहतको प्रयोगशालाले जटिल खालका इन्फ्लुएन्जाहरुको पनि उच्चस्तरीय र गुणस्तरीय माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षण गर्छ । जनस्वास्थ्य प्रयोगशाला एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डको अनुदानमा ८ करोड ७० लाख २० हजार रुपैयाँमा निर्माण भएको हो । 

जहाँ, सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमार्फत आएका लुम्बिनी प्रदेशका १२ जिल्लाका नागरिकको विभिन्न रोगको चौबिसै घण्टा स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिन्छ । तीन वर्षदेखि सञ्चालित प्रयोगशालाले विभिन्न रोगको सर्वेक्षण, अनुसन्धान, प्याथोलोजिकल गुणस्तर परीक्षण, प्राविधिक जनशक्तिलाई तालिम प्रशिक्षण र गुणस्तर मापनका काम पनि गरिरहेको छ ।

रोगको पहिचान, उपचार र निदानका लागि स्वास्थ्य प्रयोगशालाहरू भरपर्दा माध्यम हुन् । जटिल रोगको पहिचानका लागि सञ्चालित यो प्रयोगशालालाई भरपर्दो बनाउन मातहतका स्वास्थ्य संस्थामा प्रयोगशालाका लागि लिइने नमुना संकलन र डेलीभरीलाई पनि वैज्ञानिक बनाउनपर्छ ।


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।