
काठमाडौै । काठमाडौं बौद्धकी शोभा तामाङ पेशाले नर्स हुनुहुन्छ। २ वर्षअघि पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी तालिम लिँदै गर्दा उहाँलाई लाग्यो लक्षण नदेखिए पनि एक पटक आफ्नो पनि परीक्षण गर्नुपर्छ। भक्तपुर क्यान्सर अस्पताल गएर परीक्षण गराउनुभयो । आफैंले स्तन छाम्दा शंका पनि लागेको थियो। त्यो शंका यथार्थमा परिणत भयो, अर्थात् उहाँलाइ क्यान्सर देखियो । समयमै पत्ता लागेकाले तुरुन्त उपचार थालियो । अहिले उहाँ क्यान्सरमुक्त हुनुहुन्छ ।
तामाङ भन्नुहुन्छ, पहिलोचोटि पोजेटिभ थाहा हुँदाखेरि म आफै एक्लै आएको थिए“ । परीक्षण पनि आफैले गराए“ र पोजेटिभ भएको कुरा पनि म आफैले नै हेरे“ । त्यतिखेर मलाइ हातखुट्टै गलेजस्तो, ओहो मलाइ त रोग पो लागेछ, मैले त सोचेको थिइन“, तर नसोचे पनि शंका त लागेको थियो तर मलाइ पोटेटिभ आयो भनेर मन चै दुखेको थियो । निको भएपछि त म एकदमै खुसी छु। केमो दिने क्रममा भने मलाइ अलिकति गारो भएको थियो । किनभने केमोको साइड इफेक्टले निकै नै असर गरेको थियो । र पनि मैले हिम्मत हारिन“, यो ठीक हुन्छ भन्ने मलाइ विश्वास थियो, ठीक भयो खुसी छु, तामाङको भनाइ हो यो ।
दाङका रेशम नेपालीलाई पनि २०८१ भदौमा पित्त थैलिको नलीको क्यान्सर देखियो। क्यान्सर लागेको थाहा हुनेवित्तिकै उपचार पनि पाएपछि उहाँ पनि अहिले क्यान्सरमु्क्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ(यो रोग लागिहालेमा यसलाई परास्त गर्न उपचारसँगै हिम्मत पनि चाहिने रहेछ । नेपाली भन्नुहुन्छ, हिम्मत चाहिने रहेछ, हिम्मत बढ्यो भने रोग त्यत्तिकै दबेर जाने रैछ ।
म आज मर्छु कि भोभि मर्छु लै छोराछोरी हो, श्रीमती हो, त्यो काम छैन क्या । जान त एकदिन जाने हो, डक्टर पनि जाने हो, भगवान् पनि जाने हो, सबै जाने हो, तर आफूले हिम्मत बढाउनुपर्यो ।
क्यान्सर लागेपछि निको हुँदैन भन्ने धारणा अधिकांशमा पाइन्छ । तर त्यसो होइन । समयमै रोग पत्ता लाग्यो र सही समयमा उपचार गर्ने हो भने क्यान्सर पूर्ण रुपमा निको हुन्छ । तर अधिकांश बिरामी ढिला अस्पताल पुग्ने गरेका छन् ।
क्यान्सर जति छिटो पत्ता लगायो उपचार त्यत्तिनै प्रभावकारी हुन्छ । पहिलो स्टेजमा पत्ता लाग्यो भने पूर्णरुपमा निको हुन्छ । तर बिडम्बनाको कुरा चै बिरामीहरु अलिक दोस्रो, चेस्रो, चौथो स्टेजमा बढिसकेपछि मात्र आउने हुनाले, त्यसको उपचार गरिसकेपछि पनि निको नहुने, फेरि बल्झिने समस्याहरु देखिरहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक, डा. उज्ज्वल चालिसे बताउनुहुन्छ ।
नेपालमा क्यान्सरका बिरामीको संख्या बर्सेनि बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७९(८० मा १६ हजार ६ सय ९६ क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कार्यक्रममार्फत् १ लाख रुपैयाँको सुविधा लिएकोमा २०८०(८१ मा यो सुविधा लिनेको संख्या २२ हजार १ सय ५३ पुगेको छ । यो तथ्यांकले नेपालमा क्यान्सर रोग गम्भीर स्वास्थ्य चुनौती बन्दै गएको संकेत गर्छ। जनचेतना अभाव तथा सहज रुपमा स्क्रिनिङको व्यवस्था नभएका कारण क्यान्सरका बिरामीको संख्या बढेको छ ।
असन्तुलित खानपान, प्रशोधित तथा बोसोयुक्त खाना, धूमपान, मद्यपान, शारीरिक निष्क्रियता, मोटोपन, वातावरणीय प्रदूषण, वंशाणुगत लगायतका कारण क्यान्सरका बिरामी बढिरहेका छन् । नेपालमा पुरुषहरुमा फोक्सोको र मुखको क्यान्सर र महिलाहरुमा पाठेघरको मुखको तथा स्तन क्यान्सरको समस्या बढी देखिने गरेको छ ।
स्वास्थ्य मन्त्रालयले क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि प्रयास त गरिरहेको छ । तर एक्लो प्रयासले मात्र सम्भव नहुने मन्त्रालयका सहप्रवक्ता, समीरकुमार अधिकारी बताउनुहुन्छ ।
धूमपान तथा मद्यपान त्याग्ने, सन्तुलित खानपान गर्ने, नियमित व्यायाम र बेला(बेला स्वास्थ्य परीक्षण गर्ने जस्ता जीवनशैली सुधारमा लाग्ने हो भने क्यान्सरको जोखिम आधासम्म घटाउन सकिने चिकित्सकको भनाइ छ। यसका साथै सरकारले स्वास्थ्य सेवामा पहुँचका साथै परीक्षणको दायरा बढाउनु आवश्यक छ।