
दाङ । दाङको घोराहीमा महको प्रचारप्रसार र बजारीकरण प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने मह महोत्सव आयोजना गरिएको छ ।
मह उत्पादनको पकेट क्षेत्र बन्दै गएको दाङमा चार सयभन्दा बढी किसान व्यावसायिक मौरीपालन लागेका छन् भने वार्षिक ३ सय १५ टनभन्दा बढी मह उत्पादन गरी १० करोड रूपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेका छन्। जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवमा मौरीपालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको प्रदर्शनी र बिक्री पनि गरिएको छ।
दाङको घोराही स्थित कर्मचारी मिलनकेन्द्रको सभाहल, हलभरी दाङ जिल्लाका माहुरी पालक किसान अनि आफूले उत्पादन गरेका कात्तिके मह चिउरी, जामुनो रूदिलो लगाएतका थरीथरीका महहरू। यसैको प्रचार प्रसार र अनुभव आदान प्रदान र बजारी करण गर्ने उद्देश्यले पहिलोपटक आयोजना गरिएको हो मह महोत्सव ।
बारीका काल्नादेखि समथर फाट अनी वनजंङगलमा राखिएका माहुरीका घारबाट उत्पादन गरिएको महका बारेमा बुझ्नेहरूको भीड थियो भने महको बारेमा जानकारी दिने र मह बिक्रि गर्ने व्यवसायीहरूलाई भ्याइनभ्याइ छ । जिल्लाका किसानहरूले वार्षिकरूपमा कम्तीमा ४० /५० हजार देखि १५/२० लाखसम्म एउटा किसानले कमाइ गर्दै आएका छन् ।
मह खानका लागि स्वादिलो मात्रै नभएर मह बहुगुनी पनि रहेको छ । जिल्लाका व्यवसायीहरूले अहिले मह उत्पादनका साथै अन्य वस्तुहरूको उत्पादन र बजारीकरणमा लागेका छन् । मौरी पालक किसानहरूले महोत्सबमा आएका लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रीलाई चरिचरण अभाव, प्राकृतिक विपद्बाट हुने क्षति र कहिलेकसो देखिने बजारीकरण लगाएतका आफ्ना समस्या सुनाए ।
मन्त्रीले पनि किसानहरूका समस्या सुन्दै प्रदेश सरकार किसानको साथमा रहेको प्रतिबद्धता जनाए।