जुम्लाकी रमिताले बाटोमै जन्माइन शिशु, नाभीसमेत ढुंगाले काटियो

माघ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लाकी रमिताले बाटोमै जन्माइन शिशु, नाभीसमेत ढुंगाले काटियो

जुम्ला । जुम्लाको तिला गाउँपालिका-९ माथिल्लो खोप्रीकी २७ वर्षीया रमिता थापालाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै शिशु जन्मिएको छ। 

आफन्तले बोकेर बर्थिङ सेन्टर लैजाँदै गर्दा चायापाटनको हिउँमै रमिताले छोरी जन्माउनुभएको हो । बिहान ४ बजेदेखि व्यथा लागे पनि आफन्तले ७ बजेमात्रै सुत्केरी गराउन उहाँलाई बर्थिङ सेन्टरमा लैजाँदै थिए। स्थानीय कालीबहादुर थापाले ९ बजेर ४८ मिनेटमा रमिताले बच्चा बाटोमै जन्माएको बताउनुभयो । 

दुई फिट जमेको हिउँमाथि ८ जना युवाले स्ट्रेचरमा बोकेर हिँडिरहँदा रमिताले बच्चा जन्माएको उहाँले बताउनुभयो । माथिल्लो खोप्री गाउँबाट राँसामा रहेको बर्थिङ सेन्टर पुग्न पाँच घन्टा लाग्ने गर्छ । बाटैमा सुत्करी भएपछि रमितालाई घर फर्काइएको छ। उहाँका यसअघि दुई छोरी छन्। रमितालाई स्ट्रेचरमा बोकेर ल्याउने कालीबहादुरले बर्थिङ सेन्टर बोकेर लैजाने क्रममा ६ जनाभन्दा धेरै महिला सुत्केरी भएको बताउनुभयो । 

गाउँमा स्वास्थ्यचौकी छैन । तिला गाउँपालिका-९ मा रहेको तल्लो र माथिल्लो खोप्रीमा झन्डै ६० घरधुरी छन् । गर्भवती महिलाको समस्या स्थानीय, प्रदेश र केन्द्र सरकार कसैले पनि नसुनेको गाउँलेको गुनासो छ । आगामी चुनावका लागि भोट माग्न आउने उम्मेदवारलाई आफूहरूले यही समस्या जोड दाररूपमा उठाउने स्थानीयले बताएका छन् । माथिल्लो खोप्रीमा बिजुली, खानेपानी, विद्यालय, सडकजस्ता आधारभूत पूर्वाधार पुगेकै छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.