
काठमाडौं । नवजात शिशु तथा बाल मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षणमा नेपालमा प्रति १ हजार जीवित जन्ममा २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको छ । प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ पुगेको छ । प्रदेशगत तथ्याङ्कअनुसार नवजात शिशु तथा बाल मृत्यु दर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ ।
सुदूरपश्चिममा प्रति १ हजार जन्ममा २६ बालमुत्यु हुने गरेको छ भने सबैभन्दा कम बागमती प्रदेशमा १० जना रहेको छ । शिशु मृत्युदर पनि सुदूरपश्चिममा सबैभन्दा बढी ३८ र बागमतीमा सबैभन्दा कम १७ देखिएको छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर समेत सुदूरपश्चिममा ४८ पुगेको छ ।
नेपालको कुल प्रजनन् दर प्रतिमहिला १ दशमलब ९ मा झरेको छ । तथ्याङ्कले किशोरी गर्भधारण अझै चुनौतीको रूपमा रहेको देखाउँछ । सर्वेक्षण प्रतिवेदनअनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३१ दशमलव ५ प्रतिशत पुड्कोपन र २४ दशमलव ३ प्रतिशत तौल कमीको समस्यामा छन् ।
मधेश प्रदेशमा तौल कमी भएका बालबालिकाको प्रतिशत सबैभन्दा बढी छ । सर्वेक्षणअनुसार ९६ दशमलब ७ प्रतिशत घरपरिवारमा विद्युत् सेवामा पहुँच पुगेको छ। टेलिफोन सेवा ९५ दशलमलब ५ प्रतिशत घरपरिवारको पहुँच छ भने इन्टरनेट सुविधा भएको उपकरण प्रयोग गर्ने घरपरिवार ८२ प्रतिशत पुगेका छन् ।
नेपालको कूल जनसंख्याको ९८ दशमलव २ प्रतिशतले सुधारिएको पानीको स्रोत प्रयोग गरेका छन् भने ९२ दशमलव ४ प्रतिशतले सुधारिएको चर्पीहरूको प्रयोग गर्ने गरेका छन्।