अर्घाखाँची । अर्घाखाँचीका मतदाताले जिताएका आधा दर्जन नेता मन्त्री, उपप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसमेत बनेका छन् । तर, ३७ वर्षदेखि हरेक निर्वाचनमा अर्घाखाँची अस्पताल स्तरोन्नति दलहरूको मुख्य चुनावी एजेन्डा बन्दै आएको छ ।
२०४५ सालमा सदरमुकाम सन्धिखर्कमा १५ शैयाको अस्पताल स्थापना भए पनि जनशक्ति र स्तरोन्नति नहुँदा सेवा प्रवाह सहज छैन । पछिल्लो समय चौबिसै घन्टा ल्याब र एक्स-रे सेवा सुरू गरिए पनि अर्घाखाँची अस्पतालको भौतिक संचना र दक्ष जनशक्ति अभावमा धेरै बिरामी बुटवल रिफर गर्नुपर्ने बाध्यता छ ।
गोखुङ्गा, धारापानी, खिल्जी, बल्कोट, पाली, धनचौरलगायत ६१ वडाबाट उपचारका लागि बिरामी अस्पतालमा ल्याउँदा सानो खालको शल्यक्रियासमेत हुँदैन । तर, यहाँका उम्मेदवारले हरेक निर्वाचनमा सुविधा सम्पन्न, विशेषज्ञ सेवासहितको आधुनिक अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् । तर, चुनावपछि ती प्रतिबद्धता कार्यान्वयनतर्फ ठोस पहल नगरेको भन्दै मतदाताले असन्तुष्टि व्यक्त गरेका छन् ।
अर्घाखाँचीबाट चार पटक निर्वाचित टोपबहादुर रायमाझी पटक-पटक मन्त्री हुँदै, उपप्रधानमन्त्री र एक पटक निर्वाचित पुष्पा भुसाल उपसभामुख, चेतनारायण आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ । तर, गुल्मी र प्यूठानलगायतका छिमेकी जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण हुँदा पनि अर्घाखाँचीमा राजनीतिज्ञले प्रतिबद्धता पूरा नगर्दा काम हुन सकेको छैन ।
अर्कोतिर सामान्य अवस्थाका बिरामीका लागि पनि ब्लड बैंक नहुँदा अन्यत्र पठाउनुपर्ने बाध्यताले जिल्लाका झन्डै १ लाख ७७ हजार नागरिक उपचारका लागि बुटवल, तानसेन र काठमाडौं जानुपर्ने बाध्यता छ । जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था भए पनि पर्याप्त विशेषज्ञ सेवा, आधुनिक उपकरण तथा जनशक्ति अभाव छ ।
३७ वर्षसम्म पनि भौतिक संचना, विशेषज्ञ चिकित्सक र नर्सको स्थायी व्यवस्था हुन नसकेपछि यहाँका मतदाता अब भाषण व्यवहारमा उतार्ने उम्मेदवारको खोजीमा छन्।