पाल्पामा बर्षेनि नसर्ने रोगका बिरामी बढ्दै गएपछि स्क्रीनिङ अभियान सुरू

फाल्गुन २, २०८२ |माधव अर्याल
पाल्पामा बर्षेनि नसर्ने रोगका बिरामी बढ्दै गएपछि स्क्रीनिङ अभियान सुरू

पाल्पा । पाल्पामा बर्षेनि नसर्ने रोगका बिरामी बढ्दै गएपछि संघीय, प्रदेश र स्थानीय सरकारले गाउँ-गाउँमा स्क्रीनिङ अभियान सुरू गरेको छ । 

पाल्पाका १० वटै स्थानीय तहमा ३० वर्षमाथिका नागरिकको अवस्थाबारे जानकारी लिन स्क्रीनिङ गरिएको हो । मधुमेह जाँच, उच्च रक्तचाप, पिसाबमा प्रोटिनको मात्रा र उमेर अनुसार उचाइ, तौलको अवस्थाका जानकारी लिइएको छ । पछिल्लो समय सर्नेभन्दा नसर्ने रोग बढ्दै गएको छ । 

अघिल्लो आर्थिक वर्षमा ६ सय ५७ जना दीर्घरोगीले संघीय सरकारबाट प्राप्त हुने मासिक पाँच हजार रूपैयाँका दरले पाउने स्वास्थ्य उपचार सुविधा लिएका थिए । त्यसअघि ५ सय १० जनाले लिएका थिए । यो तथ्यांकले पनि हरेक वर्ष नसर्ने रोग बढ्दै गएको देखिएका छ । 

त्यसैले पाल्पाका सबै पालिकामा स्वास्थ्य कार्यालय पाल्पा र स्थानीय तहको समन्वयमा नसर्ने रोगको अवस्था जाँच गर्न अभियान सञ्चालन गरेको हो । अभियानबाट नागरिक पनि खुसी छन् । सहरी क्षेत्रमा मात्र नभइ ग्रामीण भेगमासमेत नसर्ने रोगबाट पीडित हुनेको संख्या बढ्दो छ । 

त्यसैले संघीय सरकारले स्पाइनल प्यारालाइसिस्, मृगौला रोग र क्यान्सरबाट पीडित बिरामीलाई मासिक पाँच हजार रूपैयाँ उपलब्ध गराउँछ । स्वास्थ्य कार्यालय पाल्पाले अघिल्लो आर्थिक वर्षमा ३ सय ३३ जनालाई विपन्न नागरिक उपचार कोषमार्फत नि:शुल्क सेवाका लागि सिफारिस गरेको थियो । यसवर्ष ग्रामीण भेगमा धेरैलाई स्क्रीनिङ गरिएको छ ।

मृगौला, मुटु, क्यान्सर, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स, अल्जाइमर रोगका लागि विपन्न नागरिक उपचार कोषमार्फत निःशुल्क सेवा लिन स्वास्थ्यले सिफारिस दिन्छ । मृगौला प्रत्यारोपण, क्यान्सर रोग र मुटुको भल्भ फेर्नका लागि प्रदेश सरकारलेसमेत सहयोग गर्दै आएको छ । तर पनि नसर्ने रोगको अवस्था अझै जटिल बन्दै गएकाले तीन तहकै सरकारले अहिले नसर्ने रोग स्क्रीनिङ अभियानमा छन् ।

पाल्पामा गतवर्ष ४० वर्षभन्दा माथिका लागि नसर्ने रोग-सुगर, प्रेसर र मृगौला रोगकाे स्क्रीनिङ कार्यक्रम गरिएको थियो । १० वटै पालिकाका ११ हजार ६४८ सेवाग्राहीमा नसर्ने रोगमा मिर्गौला रोग, सुगर, उच्च रक्त चाप र बिएमआई परिक्षण गरिएको हो । यस वर्ष पालिका आफैं, संघीय र प्रदेश सरकारलेसमेत गरी ३० हजार बढी ३० वर्षमाथिका नागरिकको स्क्रीनिङ गरिनेछ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।