भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा उच्च सतर्कता

माघ ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा उच्च सतर्कता

काठमाडौै । ‍भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ ।

भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरु गरिएको मन्त्रालयले जनाएको हो । बिहीवार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताउनु भयो । 

निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उहाँको भनाइ छ । निपा संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले सबैमा अपिल समेत गरेको छ ।

के निपाह भाइरस मानवकोलागि घातक छ ?

निपाह भाइरस एक घातक जेनेटिक भाइरस हो । जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरोबाट मानिसमा सर्छ । अहिले यो भाइरस फेरि चर्चामा आएको छ । किनकि भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा यसका केसहरू पुष्टि भएका छन् ।

जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुईजना नर्सहरूमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नर्सहरू नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एकजना कोमामा र अर्की भेन्टिलेटरमा छन् । करिव १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन र निगरानीमा राखिएको छ । 

नेपालमा जोखिम कति ?

नेपालमा अहिलेसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र फ्रुट ब्याटहरूको उपस्थितिले जोखिम बढाएको छ । इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका केसहरू रिपोर्ट गर्न निर्देशन दिएको छ ।

पूर्वी सीमा नाका र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य डेस्कहरूलाई अलर्ट गरिएको छ । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय बैठक गरी शतर्कता अपनाउने निर्णय गरेको छ । विज्ञहरूका अनुसार चमेरोबाट सर्नसक्ने यो भाइरस सीमापारि फैलिनसक्छ । त्यसैले रोकथाममा जोड दिइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.