
काठमाडौं । बालबालिकाको उपचारको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना गरिएको काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थ-किओचले बहिरंग सेवा सुरू गरिसकेको छ ।
गत बुधबारदेखि अस्पतालमा सामान्य शल्यक्रियासमेत सुरू भयो । बालबालिकाको सामान्यदेखि जटिल स्वास्थ्य उपचार सेवा एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको यो अस्पतालले चाँडै नै अन्य सेवा पनि सुरू गर्दै लगिने जनाएको छ ।
बालबालिकाको सामान्यदेखि जटिल प्रकारका उपचारका लागि काठमाडौंको बुढानीलकण्ठमा स्थापना गरिएको काठमाडौं इन्सिच्युट अफ चाइल्ड हेल्थ-किओचले सेवा सुरू गरेको हाे । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पहलमा गैरनाफामूलक संस्थाको रूपमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
स्वदेश तथा विदेशमा रहेका व्यक्ति, संघ/संस्था, तीनै तहका सरकारलगायतको सहयोगमा अस्पताल निर्माण भएको हो । दुई सय शय्याको अनुमति पाएको अस्पतालमा पुस १३ देखि बहिरंग सेवा सुरू भएकोमा बुधबारदेखि शल्यक्रियासमेत सुरू भएको छ । कोही पनि पैसाको अभावमा उपचारबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापना भएको अस्पतालले बालबालिकाको उपचारमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।
२ लाख ६७ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस अस्पतालमा बहिरंग तथा शल्यक्रिया सेवा सुरू भए पनि पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ । निर्माण कार्य जारी रहेको र थप उपकरणको समेत जोहो गर्नुपर्ने भएकाले उपचार सेवा क्रमश: सुरू हुँदै जाने अस्पतालको भनाइ छ ।
अहिलेसम्म उपकरण र भौतिक पूर्वाधारमा डेढ अर्बभन्दा बढी खर्च भइसकेकोमा निर्माण सम्पन्न भएर पूर्ण सञ्चालनमा आउँदासम्म ३ अर्बभन्दा बढी लागत लाग्ने अनुमान छ । अस्पताल पूर्णरूपमा सञ्चालन आएपछि कोही पनि बालबालिका उपचार अभावमा मृत्युवरण गर्नु नपर्ने तथा बाल मृत्यु दरमा समेत कमी ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।