
राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ स्थित स्वास्थ्य चौकी तथा प्रसूति गृह लोखरममा नेपाली सेनाद्वारा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
हैजा प्रभावित भएका बस्तीका नागरिकलाई लक्षित गर्दै राजविराजस्थित श्री बरख गणको आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो। श्री नं. २७ फिल्ड गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा आयोजित शिविरको उद्घाटन श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भयो।
केही महिनाअघि लोखरमस्थित मुसहर बस्तीमा हैजाको प्रकोप फैलिएकाले स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पालिकासँग समन्वय गरी शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। नेपाली सेना श्री बरख गणका प्रमुख सेनानी सोबित बहादुर चन्दले नागरिक-सेना सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा पुर्याउने अभियान अन्तर्गत शिविर सञ्चालन गरिएको बताउनुभयो।
शिविरबाट लाभान्वितहरूले लामो समयदेखि आँखासम्बन्धी समस्याबाट पीडित हुँदै आएको बताए। गाउँमै उपचार सेवा उपलब्ध भएपछि आफूलाई निकै सहज भएको स्थानीयको भनाइ छ। छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले यसअघि लोखरम सदा बस्तीमा झाडापखालाको प्रकोप फैलिएको तथा जाडोयाममा देखिने विभिन्न स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो।
शिविरमा स्थानीय बासिन्दालाई सामान्य ओपीडी सेवा, आँखा उपचार, स्त्री तथा प्रसूति रोग, बालरोगसम्बन्धी उपचार सेवा प्रदान गरिएको छ भने निःशुल्क औषधि वितरणसमेत गरिएको छ। यसै अवसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरियो। शिविर उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी ६ नम्बर गण सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो।