
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमसमक्ष नेपाल औषधि थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमललाई सङ्घका अध्यक्ष गणेश नेपाल नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा मन्त्री गौतमले औषधि व्यवसायीका पछिल्लो पटक देखिएका समस्याबारे आफू जानकार रहेकाले माग सम्बोधन गरिने बताउनुभयो ।
उहाँले औषधि व्यवसायीका समस्याबारे आफूले मन्त्रालयमा पनि छलफल गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहमति सहकार्यमा विश्वास गर्छौँ । थोक व्यवसायी सङ्घले राखेका कुरा सहज रूपमा लिएको छु । समस्या समाधान उन्मुख छ ।”
सङ्घले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ कार्यान्वयन स्थगन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्रमा नवीकरण प्रक्रियालाई डिजिटल, पारदर्शी, छिटो तथा व्यवसाय मैत्री प्रशासनिक ढिलाइ र प्रणालीगत कमजोरीहरू पूर्ण रूपमा न्यूनीकरण गर्न आवश्यक कानुनी-प्राविधिक संरचना अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।
औषधि ऐनको दफा ११ को उपदफा (३) अन्तर्गत दोब्बर दस्तुर तथा समयसीमाको विषयमा समेत पुनरावलोकन गर्न आग्रह गरिएको छ ।-रासस