जनकपुर । नेपाल २०७६ सालमै खुला दिसामुक्त र पूर्ण सरसफाइमा अग्रसर राष्ट्र घोषणा भए पनि मधेशमा भने झन्डै १३ प्रतिशत घरपरिवारसँग अझै शौचालय छैन ।
कतिपय दलित बस्तीमा त एउटा पनि शौचालय छैन भने सार्वजनिक स्थानमा भएका शौचालय पनि प्रयोगविहीन छन् । मधेशका केही स्थानमा शौचालय र सरसफाइ अभावकै कारण हैजा फैलिएको पुष्टि समेत भइसकेको छ । यस्तो अवस्थामा संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म लिएको स्वच्छ खानेपानी र सरसफाइको दिगो विकासका लक्ष्य कसरी हासिल होला ?
आज १९ नोभेम्बर अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । सन् २०१३ देखि यो दिवस मनाउन थालिए पनि सहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती कायमै छ ।
मानवजन्य दिसापिसाबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगव्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानि विकसित गराउन संयुक्त राष्ट्र सङ्घले १३ वर्षदेखि लगातार विश्व शौचालय दिवसका रूपमा मनाउन थालिए पनि महोत्तरी ढेकहाका सुमित्रा देवी जस्तै मधेशका झन्डै १३ प्रतिशत घर अहिले पनि शौचालयविहीन छन् ।
एक अन्तर्राष्ट्रिय दातृ संस्थाका अनुसार यो संख्या त कुनै स्थानीय तहमा ४० प्रतिशतभन्दा माथि छ । घरमा शौचालय हुँदाहुँदै खुल्ला स्थानमा शौच गर्ने, सेफ्टी ट्याङ्कीबाट मोटरको माध्यमले दिशा झिकेर जथाभावी नदी नाला, बाटोको छैउ र कृषि योग्य खेतमा मिलकाउने, सार्वजनिक स्थानमा भएका शौचालय प्रयोग नगर्ने र गर्न नदिने लगायतका समस्या भयावह छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउने प्रगति भने सुस्त गतिमा छ । खुला दिसापिसाबका कारण फैलिने रोगले दैनिक एक हजार बालबालिकाको मृत्यु हुने संयुक्त राष्ट्रसङ्घकै तथ्यांक छ ।
केही महिनाअघि दुषित पानी र सरसफाइको अभावमा मधेशको बिरगञ्ज र सप्तरीको छिन्नमस्ता गाउापालिका लोखरमको मुसहर बस्तीमा हैजाको जिबाणु फैला परेको पुष्टि भइसकेको छ । तीन जनाको मृत्यु र ८० जना भन्दा बढी बिरामी हुनुको मुख्य कारण दूषित पानी, खुला स्थानमा दिसापिसाब र सरसफाइको अभावले संक्रमण फैलाउन सहयोग गरेको थियो ।
सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब पाँच वर्ष मात्र बाँकी छ । २०७८ को जनगणनाअनुसार नेपालमा ९ दशमलब ८ प्रतिशत परिवारले सार्वजनिक ढल, सेफ्टी ट्याङ्की भएको शौचालय प्रयोग गर्नेको संख्या सबैभन्दा बढी ५५ दशमलव १ प्रतिशत, साधारण शौचालय प्रयोग गर्नेको संख्या ३० दशमलव १ प्रतिशत, सार्वजनिक शौचालय प्रयोग गर्नेको संख्या ० दशमलव ५ प्रतिशत छ भने शौचालय नहुनेको संख्या ४ दशमलव ५ प्रतिशत रहेको छ ।