दुर्गा प्रसाईंको आरोपपछि सरकार मौन : मिथ्या सूचना चिर्न सरकार स्वयं असफल

मंसिर ३, २०८२ |प्रकाश बम
दुर्गा प्रसाईंको आरोपपछि सरकार मौन : मिथ्या सूचना चिर्न सरकार स्वयं असफल

काठमाडौं । अनर्गल प्रचार गरेको आरोप लगाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि अहिले सरकारमाथि पनि प्रश्न उठेको छ । 

आफूमाथिका आरोपको स्पष्टीकरण दिनुपर्ने भए पनि सरकारले त्यसतर्फ भने चुपचाप छ । न त मिथ्या र भ्रामक सूचना तथा समाचारले उत्पन्न गरेका भ्रम नै चिर्न सकेको छ । सरकार आफैं भन्छ– मिथ्या र भ्रामक सूचनासँग जुध्न संरचना नै छैन । प्रधानमन्त्री र मन्त्रिपरिषद्‌मा रहेका मन्त्रीहरूबारे गरिने टिप्पणी र नियोजित प्रचारका बारेमा भने नागरिकले पनि स्पष्टीकरण खोजिरहेका छन्। त्यसैमध्ये कै एउटा सन्दर्भ हो, हिरासतमा रहेका दुर्गा प्रसाईँले सामाजिक सञ्जालमा भिडियो निर्माण गरेर प्रधानमन्त्री र गृहमन्त्रीका बारेमा लगाएका आरोपहरू । के प्रधानमन्त्री र मन्त्रीहरूले ती आरोपका बारेमा जवाफ दिनुपर्दैन ?

दुर्गा प्रसाईंले आफ्नो फेसबुक पेजमा राखेको यो भिडियोमा भदौ २३ र २४ गतेको आन्दोलन र त्यसक्रममा भएको विध्वंस तथा त्यसपछि भएको सरकार निर्माण सबै पश्चिमा शक्तिले गरेको आरोप लगाइएको छ । उत्तेजना फैलाएर विध्वंस मच्चाएर सत्ता कब्जा गरेको आरोप लगाइएको छ । भिडियोमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको अडियो र भिडियोसमेत प्रयोग गरिएको छ ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्याधीश कल्याण श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेन-जी अभियन्ता सुदन गुरूङसम्मलाई मुछिएको छ । पत्रकार अमित ढकालसँगको अन्तर्वार्तामा डाक्टर अभिषेकराज सिंहले राखेका भनाइलाई समेत आधार मानेर प्रधानमन्त्री कार्की र अन्यलाई विभिन्न गैरसरकारी संस्थाहरूसँग जोडिएको छ। 

निचोडमा प्रसाईँले राखेको भिडियोमा सरकार गठन नै बाहिरिया शक्तिले गरेको भन्दै देशको सार्वभौमसत्ता नै खतरामा परेको दाबी गरिएको छ। प्रसाईँले सार्वजनिक गरेको भिडियो र उहाँले बेलाबेलामा दिँदै आएका अभिव्यक्तिकै आधारमा उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललगायतले आफूमाथि लगाइएका गम्भीर आरोपहरूबारे बोल्न आवश्यक ठान्नुभएको छैन।

उसो त पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोग गरी मिथ्या सूचनाहरू उत्पादन गर्ने र व्यक्ति तथा संस्थाहरूलाई अपमानित गर्ने क्रम तिव्र नबनेको होइन। सामाजिक सञ्जालमा एआइको प्रयोग गरेर भ्रामक सामग्री प्रसार गर्ने कार्य बढेको छ। सरकारले समेत मिथ्या तथा भ्रामक सूचना सरकारका लागि टाउको दुखाइ बनेको बताउने गरेको छ। तर सरकारको उत्पत्तिकै विषयमा यति गम्भीर प्रश्न उठ्दा र त्यसको व्यापक प्रसार हुँदा त्यसबाट उत्पन्न हुने भ्रम चिर्न सरकार र सरकारमा रहेकाहरूले जवाफ दिनु पर्छ कि पर्दैन ?

सरकारको एउटा काम हो, जनतामा सहि सूचना प्रसारको नेतृत्व गर्नु । आफ्नै बारेमा गलत सामग्री प्रसार हुँदा त्यसको अनुसन्धान र दोषीउपर कारबाही गर्नु पनि उसैको काम हो। तर त्यससँगै जनतामा छरिएका भ्रमबारे स्पष्ट पार्नु पनि सरकारको काम हो। किनकि नागरिकले नै भनिरहेका छन्– यो नागरिक सरकार हो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।