स्वास्थ्य मन्त्रालय बिहीबार सिंहदरबार परिसर सर्ने

मंसिर ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य मन्त्रालय बिहीबार सिंहदरबार परिसर सर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि सिंहदरबारबाटै सेवा प्रवाह गर्ने भएको छ ।

सिंहदरबार परिसरको दक्षिण-पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएको र बिहीबारदेखि सोही क्षेत्रबाट कामकारबाही सुरू गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन् । गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । 

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्रबाहेकका सबै कारबाही बिहीबारदेखि स्वास्थ्य मन्त्रालयबाटै हुने उहाँले जानकारी दिनुभयो । उहाँले बाँकी संरचनाको व्यवस्थापन भएपछि केही दिनमै मन्त्रालय पूर्ण रूपमा सिंहदरबार सर्ने बताउनु भयो ।

मन्त्रालयको काम कारबाही सुरू गर्न सेनाले प्रयोग गर्दै आएका संरचनाहरूमा समेत रंगरोगन गरेर तयार पारिएका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.