म्याद थपिँदा पनि अस्पताल भवन निर्माण नहुँदा खोटाङबासी चिन्तित

अस्पताल भवन अलपत्र पार्ने अब छुट कसैलाई नदिने मन्त्री राईकाे निर्देशन
मंसिर ३, २०८२ |उत्तम चौलागाईं
म्याद थपिँदा पनि अस्पताल भवन निर्माण नहुँदा खोटाङबासी चिन्तित

खाेटाङ । थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेपछि जिल्लाबासी चिन्तित भएका छन् ।

श्याम सुन्दर-रामसागर र नेपाल फूलबारी जेभीले थप भएको म्यादभित्र पनि जिल्ला अस्पताललाई ५० शैयाको सुविधासम्पन्न भवन बनाउन असफल भएपछि जिल्लाबासी चिन्तित भएका हुन् ।  २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि पटक-पटक थपिएको म्याद पनि सकिएको छ ।

अस्पताल भवन निर्माणको काममा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको भन्दै कोशी प्रदेशका भौतिक पुर्वाधार र स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाको बैठकमा निर्माण व्यवसायीदेखि कार्यालयसम्मलाई कडा चेतावनी दिनुभयाे ।

बैठकमा मन्त्री राईले मंसिर ७ गते भित्र श्रोत साधानसहित निर्माण व्यवसायीले शहरी तथा भवन निर्माण योजना इकाई कार्यालयमा परिमार्जित कार्यतालिका पेस गर्नुपर्ने, कार्यालयले कानुनी प्रक्रिया र निर्माण कार्यमा ताकेता र प्रक्रिया आगाडी बढाउने, आउँदो बैठक २०८२ पौष १४ गते निर्माण व्यवसायी र सरोकारवालाबीच छलफल र कार्यान्वयन समीक्षा गर्नेलगायतका निर्णय गर्नुभयाे ।

मन्त्री राईले अस्पताल भवन अलपत्र पार्ने अब छुट कसैलाई नदिने निर्देशन दिनुभयाे । शहरी तथा भवन निर्माण आयोजना, ओखलढुङ्गामार्फत २२ करोड ९० लाख ४७ हजार रूपैयाँमा अस्पताल भवनको ठेक्का लागेको थियो । 


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।