काठमाडौं । देश नै खुला दिशामुक्त क्षेत्र घोषणा भइसक्दा पनि संघीय राजधानी काठमाडौंमै जनसंख्याको अनुपातमा सार्वजनिक शौचालय छैनन् ।
राजधानीमा १२ सय सार्वजनिक शौचालय आवश्यक पर्ने अध्ययनले देखाएको छ । तर काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक साझेदारीका १ सय ३६ वटा मात्र शौचालय छन् । भएका शौचालय पनि व्यवस्थित छैनन् । संघीय राजधानी काठमाडौंमा झन्डै ४० लाख मानिसको बसोबास छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार धेरै मानिसको आउजाउ हुने शहरी क्षेत्रमा तीन सय मिटरको फरकमा सार्वजनिक शौचालय चाहिन्छ । ६ हजारदेखि १० जनसंख्याका लागि एउटा सार्वजनिक शौचालय राख्नुपर्ने प्रावधान छ । तर घनाबस्ती भएको काठमाडौंमा सार्वजनिक शौचालय न्यून छन् ।
सार्वजनिक शौचालयका विषयमा धेरै गुनासा आएपछि अघिल्लो वर्ष काठमाडौं महानगरपालिकाले सपिङ्ग मल, रेष्टुरेन्टलगायत व्यापारिक क्षेत्रसँग सहकार्य गरेर उनीहरूले बनाएका शौचालय प्रयोग गर्ने सहमति गरेको थियो । महानगपालिकाका अनुसार यस्ता सार्वजनिक साझेदारीसहितका शौचालय १ सय ३६ वटा छन् । तर धेरै मानिसको आउजाउ हुने ठाउँमा भएका सार्वजनिक शौचालय व्यवस्थित छैनन् ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँग साझेदारी गरेका शौचालयको प्रयोग पनि निकै कम छ । व्यापारिक क्षेत्रसँग साझेदारी गरिएका शौचालयको पनि आम सर्वसाधारणले निर्वाध प्रयोग गर्न पाएका छैनन् । सोचेजस्तै व्यापार व्यवसाय नभएपछि व्यापारिक क्षेत्रले सहकार्य गरेका शौचालयको पनि प्रयोग गर्न नदिएको महानगरपालिकाको भनाइ छ ।
काठमाडौं महानगरपालिकाले अहिले १७ वटा सार्वजनिक शौचालय निर्माण गरिरहेको छ । तर घनाबस्ती भएका र धेरै मानिस आवतजावत गर्ने ठाउँमा जग्गाको अभावले थप शौचालय निर्माण गर्न नसकिएको महानगरको भनाइ छ । संघीय राजधानी काठमाडौंमा देशभरका नागरिक कुनै न कुनै कामले आउने गर्छन् ।
उनीहरू घुमफिर गर्न निस्कँदा शौचालयकै समस्या भोग्नुपर्छ । सार्वजनिक शौचालय नहुँदा आपत् परेमा सडकको छेउकुना लागेर दिशापिसाब गर्नुपर्ने बाध्यता छ । राजधानी शहरलाई नमूना बनाउने हो भने सबैभन्दा पहिला सार्वजनिक शौचालय नै व्यवस्थित गर्नुपर्छ ।