
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग-एनपीएलमा विजयी सुरूआत गरेको छ ।
बलरले दबदबा बनाएको खेलमा १ सय ४७ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाज एक सय १८ रनमा अलआउट भएपछि सुदूरपश्चिम २९ रनले विजयी भएको हो । रोयल्सको जितमा दीपेन्द्रसिंह ऐरी र हरमित सिंहले २५ बलमा ६१ रनको साझेदारी गरे भने सबै बलरले अनुशासित बलिङ गरेका थिए ।
सुदूरले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। पहिलो ओभरको दोस्रो बलमा गोर्खाजका करण केसीले जोस ब्राउनलाई एलबिडब्लु धरापमा पारे। करणले नै पहिलो ओभरको अन्तिम बलमा विनोदलाई भीम सार्कीबाट क्याचआउट गराए। दुवै ओपनर शून्यमा बाहिरिँदा करणले खेलमा स्वप्निल सुरूआत गराएका थिए।
अस्ट्रेलियन ब्याटर क्रिस लिन १० बलमा २ रन बनाएर आउट भए । तीन विकेट गुमाउँदा सुदूरको खातामा चार रन मात्रै थियो। इशान पाण्डे ११ र आरिफ शेख २५ रनमा आउट भए। तर दीपेन्द्र र हरमितले २५ बलमा ६१ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जिवन दिएका थिए।
दीपेन्द्र ३० बलमा ३९ रन बनाएर आउट भए। हरमितले २० बलमा ८ बाउन्ड्री लगाएर ५३ रनको अर्धशतकीय पारी खेलेका थिए। करणले काठमाडौंका लागि चार विकेट हात पारे भने मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई-दुई विकेट लिए । फिल्डिङमा गोर्खाजले केही कमजोरी गरे पछि सुदूरपश्चिम इनिङभरी नै दबाबमा रहृयो।
जवाफमा काठमाडौंका कुनै पनि जोडीबीच लामो साझेदारी बन्न नसक्दा १६ ओभर पाँच बलमा १ सय १८ रन बनाएर अलआउट भएको हो । ओपनर बेन चार्ल्सबर्थ ८ रनमा बाहिरिए। तेस्रो नम्बरका भीम सार्कीले पनि लामो पारी खेल्न सकेनन्। सन्तोष यादव रनआउट भएपछि गोर्खाजले खेलमा दबाब महशुस गरेको थियो।
आकाश त्रिपाठी र जोन सिम्पसनले ४९ रनको साझेदारी गरेका थिए। तर इशानले २४ रन बनाएका जोनलाई आउट गराएर पार्टनरसिट तोड्नु खेलको टर्निङ पोइन्ट बन्यो। ११ ओभर पाँच बलमा आकाश त्रिपाठी ३४ रन जाडेर आउट भए। त्यसपछि गोर्खाजले थप २२ रन बनाउँदा ६ विकेट गुमाएर दोस्रो हार ब्यहोरेको हो। मिन्दि कुमार ११, आदिल आलम शून्य, राशिद ६, सन्नी पटेल १० र करण केसी एक रनमा आउट भए।
सुदूरका स्कट कुगेलाइन, हेम्त र हरमितले समान २-२ विकेट लिएका थिए। त्यसैगरी इशान, नरेन साउँद र अभिनासले समान एक एक विकेट हात पारे। एनपीएलमा भोलि ४ बजेको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सको सामना गर्नेछ ।