
चितवन । काठमाडौं बाहिर पहिलोपटक चितवन मेडिकल कलेज (सिएमसी)ले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ ।
अमेरिकालगायतका देशमा लामो अनुभव बटुलेका रोबोटिक तथा न्यूरो सर्जन डा. प्रतीकमान सिंह गुरूङ, जिआइ सर्जनहरू डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्रको नेतृत्वमा सिएमसीमा ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरिएको हो । अस्पतालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा गत भदौंदेखि सुरू भएको यो सेवाबाट हालसम्म १४ वटा सर्जरी गरिएको डा.गुरूङले जानकारी दिनुभयो ।
‘रोबोटिक सर्जरी’ गर्दा सानो प्वालमार्फत शल्यक्रिया, कम रक्तस्राव, कम पीडा र छिटो निको हुने, संक्रमणको सम्भावना न्यून, उच्च सुक्ष्मता र दृष्टि, दीर्घकालिन सफलता यसको फाइदा रहेको डा.गुरूले बताउनुभयो । काठमाडौं बाहिर रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरू गरेको हो ।
यस सेवालाई सर्वसुलभ बनाइएको अस्पतालका निर्देशक प्रताप देवकोटाले जानकारी दिनुभयो । शिक्षण अस्पताल भएकाले कम खर्चमा यो उपचार गराउने तयारी भइरहेको देवकोटाले बताउनुभयो ।